२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


दक्षिण एसियाका दन्त विशेषज्ञहरु राजधानीमा छलफल गर्दै


0
Shares

‘साउथ एसिया इन्टरनेसनल अर्थोडोन्टिक कँग्रेस’को दोस्रो एवम् ‘अर्थोडोन्टिक’ तथा ‘अर्थोफेसियल अर्थोपेडिक एसोसियसन नेपाल’ (ओडाअन)को सातौँ सम्मेलनमा नेपालसहित १८ देशका १५० अर्थोडोन्टिक सर्जनले मंगलबार र बुधबार (आज र भोलि) आ–आफ्ना देशका उपचार पद्धति र सेवा विस्तारका बारेमा अनुभव साटासाट गर्नेछन् ।

एसोसियसनका अध्यक्ष प्रा.डा.प्रकाश भट्टराईका अनुसार दुई वर्ष पहिले तय भएको कार्यक्रम भएपनि भूकम्पका कारण सम्मेलन स्थगन भएको थियो । पाकिस्तान बाहेक सार्कका मुलुक, अस्ट्रेलिया, जापान, दक्षिण कोरियालगायत देशका अर्थोडोन्टिक सर्जन सम्मेलनमा सहभागी छन् ।

एसोसिसनका अध्यक्ष डा.भट्टराईले अर्थोडोन्टिक्सले बांगोटिंगोे र नमिलेको दाँतको उपचार गर्नाका साथै अनुहारको हाडको समस्याको रोकथाम र उपचार गर्ने बताए । नयाँ प्रविधिको विकास भइरहेको र नेपालमा पनि चाँडै भित्रिने उनले बताए ।

उनले नेपालका करिब ८० प्रतिशत बालबालिकाको दाँत बाँध्नुपर्ने अवस्था रहेको बताउँदै अझै त्यसको उपचार गर्नुपर्छ भन्ने चेतना विकास नभइसकेको बताए । उनले भने, ‘बांगो दाँत सिधा गर्नेमात्र नभई बच्चाको हड्डी र वयस्कमा जवडा (जव डेफोमिर्टी)समस्या को समाधान अर्थोग्नाथिक सर्जरीद्वारा गरिन्छ । पछिल्लो समय दाँतलाई व्यक्तित्वसँग जोडेर हेर्न थालिएको छ । त्यसबाहेक पनि बांगोटिंगो दाँत नमिलाउँदा स्वास्थ्य समस्यापनि देखिने भएकाले यसको उपचार गराउनै पर्छ ।’

वीर अस्पताल दन्त विभागका अर्थोडोन्टिक सर्जन मनिष वज्राचार्यले दाँत किराले खाने र गिजाको समस्या आदिबाट छुट्कारा पाउन तथा रोजगारी, विदेश अध्ययन आदिमा राम्रो आकर्षक दाँतले भूमिका खेल्ने हुँदा पछिल्लो समय अर्थोडोन्टिकको माग बढ्दै गएको धारणा राखे । रासस