अक्कल कुँवर र दिलिप पोखरेल (इमेज)
काठमाडौं, फागुन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको एकवर्षे कार्यकाल विकास र समृद्धिको आधार वर्ष बनेको दाबी गरेका छन् ।
सरकारले एकवर्षे कार्यकाल पूरा गरेको अवसरमा बिहीबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो व्याख्या गरेका हुन् ।
देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले इतिहासमा कहिल्यै नभएको गतिमा काम भइरहेको र आगामी ४ वर्ष उपलब्धिका वर्ष हुने बताए ।
प्रधानमन्त्रीले संघीयता व्यवस्थापनका लागि निर्माण गरिएका संरचना र कानुन निर्माणलाई एक वर्षको उपलब्धि पनि भनेका छन् ।
आफूले कार्यकाल सम्हालेदेखि अहिलेसम्म विकास निर्माणका कामले तीव्रता पाएको भन्दै प्रधानमन्त्री ओलीले विकास शासकीय क्षेत्रकारुपमा विकसित भएको दाबी पनि गरे ।
आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांक हेर्दा आर्थिक वृद्धिदर लक्ष्यकै हाराहारीमा पुग्ने देखिएको उनको दाबी थियो ।
प्रधानमन्त्री ओलीले छिमेकीसहित परराष्ट्र सम्बन्धमा नयाँ आयाम थपिएको र नेपाल विश्वमा नयाँ ढंगले परिचित भएको भन्दै एकवर्षे अवधि कूटनीतिक दृष्टिकोणले पनि उपलब्धिपूर्ण भएको जिकिर गरे ।
सम्बोधनकाक्रममा प्रधानमन्त्री ओलीले पुनःनिर्माणले गति लिएको र नेपालमा वैदेशिक लगानी भित्र्याउने वातावरण निर्माण भएको जिकिर गरेका छन् ।
यस्तै, जनता, प्रतिपक्ष र सन्चारमाध्यमले गर्ने सकरात्मक आलोचना सरकारका लागि मार्गनिर्देशन भएका भन्दै उनले नकारात्मक आलोचना गरेर समाज र जनताबीच फाटो ल्याउने गतिविधि भने सैह्य नहुने चेतावनी पनि दिए ।
सम्बोधनको अन्त्यमा प्रधानमन्त्री ओलीले ‘सम्मृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार हुने दिशातर्फ उन्मुख रहेको भन्दै सरकारको अभियानमा सहयोग र साथ दिन आह्वान गरे ।
प्रतिक्रिया दिनुहोस्