३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


भरतपुर महानगरपालिकामा एमाले उम्मेदवारको अझै अग्रता


0
Shares

हालसम्म गन्ने र मिलाउने काम तीन ठाउँमा गरिँदै आएको थियो । एक ठाउँमा मिलाउने र दुई ठाउँमा गनिँदै आएकोमा गणनामा ढिलाइ भएपछि जनशक्ति थप गरी धेरै ठाउँमा गणनाको काम गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टकाअनुसार ६ ठाउँमा मिलाउने र चार ठाउँमा गन्ने काम गरिँदैछ ।

गणनाको अन्तिम चरणमा पुगेको वडा नम्बर–१ को गणना सकिएसँगै १० ठाउँमा गणनाको काम गर्न लागिएको हो ।

गणना धेरै ठाउँमा गर्दा मुख्य निर्वाचन अधिकृतलेमात्रै अनुगमन गर्न नभ्याउने हुँदा प्रमुख जिल्ला अधिकारी, भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत, स्थानीय विकास अधिकारी र जिल्ला शिक्षा अधिकारीले सहयोग गर्ने सहमति भएको छ ।

मतपत्र मिलाउने ठाउँमा हरेक दलका दुई/दुईजना र गणना गर्ने ठाउँमा उम्मेदवारसहित दुई/दुईजना प्रतिनिधि रहने व्यवस्था गरिएको प्रजिअ भट्टले बताए ।

यसैबीच, भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका देवीप्रसाद ज्ञवालीको अग्रता कायमै छ । उनले १ हजार ३७३ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रकी रेणु दाहालले ९८७ र राप्रपाका बद्री तिमिल्सिनाले ९० मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसकी पार्वती शाहले एक हजार १८७ मत पाएकी छन् भने एमालेकी दिव्य शर्मा आचार्यले एक हजार १०८ मत प्राप्त गरेकी छन् । राप्रपाकी रिना गुरुङले १०८ मत पाएकी छन् ।

भरतपुर महानगरपालिकाको वडा नम्बर–१ बाट गणना थालिएकोमा मंगलबार दिउँसोबाट वडा नम्बर–२ कोसमेत मतगणना सुरु गरिएको छ । हालसम्म प्राप्त नतिजा वडा नम्बर–१ को हो ।

सो वडामा वडाध्यक्ष र सदस्यमा नेकपा एमालेका उम्मेदवार अग्रस्थानमा रहेका छन् । भरतपुर महानगरपालिकामा एक लाख १२ हजार सातसय मत खसेको छ । रासस