काठमाडौं, फागुन २ । श्रीलंकामा सरकारले मृत्युदन्ड दिन दुईओटा पदका लागि विज्ञापन गरेको छ ।
उम्मेदवारको योग्यतामा उच्च नैतिकता खोजिएको छ ।
‘डेली न्यूज’मा छापिएको विज्ञापनमा ‘वधिक’ पदमा नियुक्त हुने व्यक्तिले मासिक ३६,३१० स्थानीय रुपैयाँ पारिश्रमिक पाउनेछन् ।
श्रीलंकामा वैधानिकरूपमै मृत्युदन्ड दिने व्यवस्था छ । तर, सन् १९७६ देखि कसैलाई पनि मृत्युदन्ड दिइएको छैन ।
मृत्युदन्ड दिने जिम्मा पाएका वधिकले पाँच वर्षअघि राजीनामा दिएपछि श्रीलंकामा उनको उत्तराधिकारी नियुक्त गर्न सकिएको छैन ।
विज्ञापन गरिएको पदका लागि अन्य योग्यतामा मानसिकरूपमा बलियो १८ देखि ४५ वर्षसम्मका पुरुष हुनुपर्ने उल्लेख छ ।
पहिलोपटक मृत्युदन्ड दिन जाँदा फाँसी दिने ठाउँ देखेपछि बिरामी परेका वधिकले सन् २०१४ मा राजीनामा दिएका थिए ।
त्यसपछि अर्का एकजनालाई सो पदमा नियुक्त गरियो । तर, उनी काम गर्न नै आएनन् ।
श्रीलंकामा लागुपदार्थ तस्करीमा संलग्न झन्डै १३ सयजनालाई मृत्युदन्डको सजाय सुनाइएको छ । तर, त्यसको कार्यान्वयन हुन बाँकी छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्