१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


आँपले राम्रो मूल्य नपाउँदा सर्लाहीका कृषक निराश


0
Shares

-प्रकाश मैनाली/ईमेज:

सर्लाही, असार २० । तराईका जिल्लामा उत्पादित आँपले उचित मूल्य पाउन नसकेको गुनासो किसानले गरेका छन् ।

गत वर्षभन्दा यस वर्ष आँपको उत्पादन वृद्धि भएकाले मूल्यमा गिरावट आएको हो । सस्तोमा आँप बिक्री गर्दा व्यवसायिक रुपमा आँप खेती गर्ने किसान मारमा परेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार सर्लाहीमा सबैभन्दा बढी उत्तरी भेगको अत्रौलीमा आँप खेती हुन्छ ।

त्यसक्षेत्रमा यस वर्ष गतवर्षको तुलनामा आँप निकै धेरै फलेको छ ।

उत्पादन बढी भएकाले यस वर्ष आँपले उचित मूल्य पाउन नसकेको अत्रौलीका किसान गोविन्द खड्काले गुनासो गर्छन् ।

गतवर्ष प्रतिकिलो ४० देखि ४५ रुपैयाँसम्म बिक्री भएको आँप यस वर्ष १५ रुपैयाँमा बिक्री गर्नुपरेको गुनासो किसानको छ ।

उत्पादित आँप भण्डारण गरेर राख्न नमिल्ने र तत्कालै बिक्री गर्नुपर्ने भएकाले सस्तोमा बेच्नुपर्ने बाध्यता रहेको अर्की किसान उषा उपे्रतीले गुनासो गरे ।

उत्पादित आँपको बजारीकरणमा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने माग किसानको छ ।

स्थानीय स्तरमै जुस उद्योग स्थापना गर्न सकिए किसानका समस्या समाधान हुने दाबी किसान नारायण मैनालीको छ ।

आँप उत्पादक किसानले पटकपटक गुनासो गरेपछि हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई किसानका समस्या समाधानका लागि नगरपालिकाले प्राथमिकतामा राख्ने बताए ।

सर्लाहीको उष्ण प्रदेशीय वागवानी केन्द्र नवलपुरसहित अत्रौली, कालिन्जोर, परवानीपुर, गौरीशंकर, जानकीनगर, मूर्तियालगायतका क्षेत्रमा व्यवसायिक रुपमा आँप खेती हुने गरेको छ ।