रविन भट्टराई/ईमेज
झापा । वडाध्यक्षले हस्ताक्षर नगर्दा झापाको कनकाई नगरपालिकाको सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति गराउन आएका ९१ जना सुत्केरीले प्रोत्साहन रकम नै नपाएको खुलेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समिति अध्यक्षसमेत रहेका कनकाई नगरपालिका ३ का वडाध्यक्ष रुद्र चिमरियाले हस्ताक्षरमा आलटाल गरेपछि सुत्केरीहरु सुविधाबाट विमुख बनेका हुन् ।
सरकारले स्वास्थ्य केन्द्रमा प्रसुति गराउने महिलाहरुलाई प्रोत्साहनस्वरुप भत्ता दिँदै आएको छ तर झापाको कनकाइ नगरपालिका ३ मा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भने यो नियम लागु भएको देखिँदैन ।
जसको परिणामस्वरुप गर्भ परीक्षण र प्रसुतिका लागि आउने महिलाको संख्या ह्वात्तै घटेको छ ।
पहिले महिनामा २०/२५ जनासम्म महिलाहरु स्वास्थ्य जाँचका लागि आउनेमा अहिले बल्लतल्ल महिनामा ४/५ जना मात्र प्रशुती सेवाका लागि पुग्छन् ।
सरकारले प्रदान गर्ने यातायात खर्च र प्रोत्साहनबापतको रकम निकासाका लागि प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका कनकाई नगरपालिका ३ का वडाध्यक्ष रुद्र चिमरियाले चेकमा हस्ताक्षर नगर्दा साउनदेखि यता प्रसुती सेवा लिएका महिलाले सो रकम पाएका छैनन् ।
रकम निकाल्न वडाध्यक्ष र केन्द्रका प्रमुखको हस्ताक्षर आवश्यक हुन्छ तर वडाध्यक्षले सेवाग्राहीलाई आलटाल गर्दै आइरहेका कारण सबै हैरान भएका छन् ।
यस बिषयमा जवाफ लिन वडाध्यक्षको कार्यालय पुग्दा उनी भेटिएनन् र फोनमा जवाफ दिन आनाकानी गरे ।
उता, कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र प्रसाद पोखरेलले भने यसको समाधान वडाले नै गर्नुपर्ने धारणा राखे ।
प्रसुती सेवा समेत दिँदै आएको योे केन्द्रले डिस्चार्ज रिपोर्टसहित यातायात खर्चबापत एकहजार र नियमित गर्भ परीक्षण गराएबापत आठ सय गरी जम्मा १८ सय रकम दिनुपर्ने हो ।
तर वडाध्यक्षको लापरवाहीको कारण सरकारले दिने सेवासुविधाबाट यहाँका महिला बन्चित हुनुपरेको छ ।
पटकपटक केन्द्रमा धाउँदा रित्तो हात फर्किनुपर्दा उनीहरु हैरानी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्