भक्तपुर नगरपालिकामा नेमकिपाको जित सुनिश्चित « Image Khabar


भक्तपुर नगरपालिकामा नेमकिपाको जित सुनिश्चित


Imagekhabar
५ जेष्ठ २०७४, शुक्रबार १७:४५

भक्तपुरका १० मध्ये ८ ओटा वडाको मतगणना सम्पन्न हुँदा नेमकिपाका प्रजापतिले नेपाली कांग्रेसका रामप्रसाद कासुलाभन्दा झन्डै चौब्बर मतअन्तरले अग्रता लिएका हुन् ।

पछिल्लो मतगणनामा प्रजापतिले २० हजार एक सय ९४ र कासुलाले पाँच हजार छ सय १७ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा पनि नेमकिपाकी रजनी जोशीको जित पक्का भएको छ । जोशीले २० हजार तीन सय ३३ र कांग्रेसकी गंगालक्ष्मी अवालले पाँच हजार दुई सय ९४ मत प्राप्त गरेका छन् ।

मतगणना सम्पन्न भएका ८ ओटै वडामा नेमकिपाको समूह नै विजयी भएको छ ।

विजयी हुने वडाध्यक्षमा क्रमशः श्यामकृष्ण खत्री, हरिप्रसाद वासुकला, राजकृष्ण गोरा, कुमार चवाल, प्रेमगोपाल कर्माचार्य, हरिराम सुवाल, उकेश कवां र महेन्द्र खायमली छन् ।

त्यसैगरी, मध्यपुर थिमी नगरपालिकाको मतगणना सम्पन्न भएका चारओटा वडामध्ये सबै वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्राप्त परिणामानुसार मध्यपुर–१ मा सुरज खड्का, २ मा राम थापामगर, ३ मा प्रेमबहादुर कुटु र ४ मा कुमार श्रेष्ठ विजयी भएका हुन् ।

मध्यपुर वडा नम्बर–१ र ३ मा कांग्रेसको समूह तथा वडा नम्बर–२ मा नेकपा एमालेले महिला सदस्य एक र वडा नम्बर–४ मा खुला सदस्यमा जित हासिल गरेको छ ।

सूर्यविनायक नगरपालिकामा पनि मिश्रित परिणाम आएको छ । सूर्यविनायकका पाँचओटा वडाको नतिजा सार्वजनिक हुँदा काँग्रेसले दुई र एमालेले तीनओटा वडामा अध्यक्ष जितेको छ ।

सूर्यविनायक–१ मा एमालेका सानुकाजी कायस्थको समूहले जित हासिल गरेको छ भने वडा नम्बर–२ मा कांग्रेसले खुला एक सदस्यबाहेकमा कमलनाथ आचार्यको नेतृत्वमा जित हासिल गरेको छ ।

वडा नम्बर–३ मा कांग्रेसका शिवशरण खत्रीको समूह तथा वडा नम्बर–४ मा एमालेका उत्तम थापा र ५ मा राजकुमार जोशीको समूह विजयी भएको छ ।

चाँगुनारायणमा भने अहिलेसम्म वडाध्यक्षमा कांग्रेसका क्रमशः राजेश खड्का र शिवहरि केसीका समूह विजयी भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्