गृष्मा राजभण्डारी र नवीन स्थापित (इमेज)
काठमाडौं, फागुन १ । गृह मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै निकै चर्चामा आएका मन्त्री रामबहादुर थापाको एक वर्षको कार्यकाल भने विवादमुक्त रहन सकेन ।
गृह मन्त्रालय सुधारको ८२ बुँदे कार्ययोजना सार्वजनिक गरेका मन्त्री थापाका लागि कन्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरण पहिलो वर्षको ‘कालोदाग’कैरुपमा रह्यो ।
मन्त्री थापाले सुरु गरेका ३३ किलो सुन तस्करीको छानबिन, एनजीओ नियन्त्रण र यातायातको ‘सिन्डिकेट’ अन्त्यको पहल पनि चर्चामै सीमित रह्यो ।
शान्ति–सुरक्षाको प्रत्याभूति दिने उद्घोष गरेपनि वर्षकै चर्चित घटना निर्मला पन्त हत्याका अभियुक्त पक्राउ गर्न नसक्नु गृहमन्त्रीको सबैभन्दा ठूलो कमजोरी रहन पुगेको छ ।
निर्मला हत्या छानबिन गर्न सरकारले विभिन्न समिति गठन गरेपनि कुनै ठोस निष्कर्ष अझै निस्कन सकेको छैन ।
निर्मलाका निम्ति न्याय माग्नेहरु अझै सडकमै छन् भने सरकाले अभियुक्त पक्राउ गर्न सकेकै छैन ।
बलात्कारका घटना पुँजीवादका कारण भएको अभिव्यक्ति दिएर विवादमा परेका गृहमन्त्रीले संघीय संसदमा गरेको प्रतिबद्धतासमेत पूरा हुन सकेन ।
सुन तस्करी नियन्त्रण गर्न आक्रामक ढंगले प्रस्तुत् भएका थापा पछिल्लो समय विस्तारै सेलाउँदै गए ।
विमानस्थलबाट बाहिरिएको साढे ३३ किलो सुन हराएपछि खुलासा भएको सुन तस्करी प्रकरणमा छानबिन समितको प्रतिवेदन सार्वजनिक हुन सकेन भने ‘गोरे’भन्दामाथि अभियुक्त पनि पक्राउ पर्न सकेनन् ।
गैरसरकारी संघ–संस्थालाई नियमन गर्ने उद्घोष गरेका गृहमन्त्री थापा त्यसमा पनि कमजोर सावित भए ।
गैरनेपालीले नागरिकता लिएकाले छानबिन हुनुपर्ने बताएका गृहमन्त्री थापाले अहिलेसम्म कुनै छानबिन थालेका छैनन् ।
कार्यभार सम्हालेको केही दिनमै सार्वजनिक यातायातको सिन्डिकेट तोड्ने उद्घोष गरेर चर्चामा आएका थापा पछिल्लो समयमा विस्तारै व्यवसायीको चंगुलमा परेर त्यसलाई पनि पूरा गर्न सकेनन् ।
भ्रष्टाचार गर्ने ठेकेदारलाई कारबाही गर्छु भनेका गृहमन्त्री थापा ठेकेदारहरुको असहयोगका बाबजुद केही सफल भएका छन् । पप्पु कन्स्ट्रक्सनका ठेकेदार पक्राउ गर्नु उनको सफलता हो ।
मन्त्रालय सम्हालेलगत्तै ८२ बुँदे कार्ययोजना सार्वजनिक गरेका गृहमन्त्रीले त्यसमा ३६ प्रतिशत सफलता हात पारेका छन् ।
चालू आर्थिक वर्षकालागि गृह मन्त्रालयले ५७ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ बजेट पाएकोमा ५० प्रतिशतभन्दा बढी खर्च भएको छ ।
गृहले ४५ ओटा ‘माइलस्टोन’अन्तर्गत् काम गर्ने कार्ययोजना बनाएकोमा २६ ओटा सम्पन्न भएका छन् ।
गृहले करिब एक वर्षकोबीचमा दाबी गरेजस्तो मुलुकको शान्ति–सुरक्षाको अवस्थााट भने आमजनता ढुक्क हुन सकेका छैनन् ।
पूर्वराजदूत केशव झाको हत्या प्रकरणलगायतका घटना अझै टुंगो लागेको छैन भने मूलपानी अपहरणकाक्रममा भएको ‘इन्काउन्टर’मा प्रश्न उठिरहेको छ ।
निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष शरद गौचनका हत्यारा पक्राउ गर्नु तथा रुपन्देहीका व्यापारी हत्या प्रकरणका फरार अभियुक्तको इन्काउन्टरले भने प्रशंसा नै पाएको थियो ।
तर, प्रहरीकै तथ्यांकअनुसार पनि हत्या, हिंसा र बलात्कारका घटनामा कमी आउन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्