प्रधानमन्त्रीले डाकेको सात दलको बैठकमा के भयो ? « Image Khabar


प्रधानमन्त्रीले डाकेको सात दलको बैठकमा के भयो ?


Imagekhabar
५ जेष्ठ २०७४, शुक्रबार २१:०३

प्रधानमन्त्रीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको प्रमुख सात राजनीतिक दलको बैठकमा उनले संविधान कार्यान्वयनको पहिलो खुट्किलोकारुपमा रहेका सबै निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।

बैठकमा तराई–मधेसमा स्थानीय तहको संख्या थप, संविधान संशोधन विधेयक, दोस्रो चरणको स्थानीय तहको निर्वाचन, बजेटलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्रीले दाहालले पहिलो चरणको निर्वाचन सम्पन्न हुनु देशकै लागि गौरवका विषय भएको बताउँदै निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक दल र मतदातालाई धन्यवाद दिए ।

प्रधानमन्त्रीले संविधान कार्यान्वयन नै सबैभन्दा ठूलो कार्यभार र जिम्मेवारी भएकामा जोड दिँदै निर्वाचनको सहज वातावरणका लागि राजनीतिक दलहरुको एकता र सहकार्य आवश्यक भएको बताए ।

प्रमुख प्रतिपक्ष दल एमाले र मधेसकेन्द्रित दलका नेताहरुले प्रधानमन्त्रीको प्रस्तावमाथि आ–आफ्ना धारणा राखेका थिए ।

बैठकले राजनीतिक सहमतिबाटै निष्कर्षमा पुग्नुपर्नेमा जोड दिँदै छलफललाई निरन्तरता दिने निर्णय गरेको सल्लाहकार अचार्यले उल्लेख गरे ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री विमलेन्द्र निधि र विजयकुमार गच्छदार, एमाले उपाध्यक्ष भीमबहादुर रावल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, राप्रपाका नेताहरु विक्रम पाण्डे र सुनिलबहादुर थापा, राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो र अनिलकुमार झा, संघीय समाजवादी फोरम नेपालका नेता अशोककुमार राईलगायत शीर्ष नेता सहभागी थिए । रासस

प्रतिक्रिया दिनुहोस्