
आज बिहान मतगणना सकिएपछि अन्तिम परिणमानुसार काँग्रेसका प्रमुख पदका उम्मेदवार भीमप्रसाद ढुङ्गानाले १३ हजार एक सय ६६ उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का अर्जुन श्रेष्ठले छ हजार छ सय २८ मत प्राप्त गरे ।
यसैगरी उपप्रमुखमा माओवादी केन्द्रका मनराज भण्डारीले १० हजार तीन सय २५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गङ्गादेवी श्रेष्ठले छ हजार नौ सय ८५ मत प्राप्त गरे ।
तेत्तिस हजार ९९ मतदाता रहेको नीलकण्ठ नगरपालिकामा २४ हजार तीन सय ७५ मतदाताले मतदान गरेका थिए ।
अन्तिम मत परिणामानुसार नगरपालिकामा काँग्रेसले छ तथा एमाले र माओवादी केन्द्रले चार चार वडामा विजय हासिल गरेका छन् ।
माओवादी केन्द्र र काँग्रेसबीच तालमेल भएको थियो । नीलकण्ठ नगरपालिको मत परिणमसँगै जिल्लाका १३ स्थानीय तहको मत परिणाम आएको छ ।
जिल्लाको अन्तिम मत परिणामानुसार एमालेबाट एक नगरपालिका र आठ गाउँपालिकामा प्रमुख र अध्यक्ष तथा ५६ वडामा अध्यक्ष विजयी भएका छन् ।
काँग्रेसले एक नगरपालिका र दुई गाउँपालिकामा प्रमुख र अध्यक्ष तथा २४ वडाध्यक्षमा विजयी भएको छ भने माओवादी केन्द्र एक गाउँपालिकाका अध्यक्ष र २१ वडाध्यक्ष तथा राप्रपा एक गाउँपालिका अध्यक्षसहित तीन वडाध्यक्षमा विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्