तामाङ, मगर, बाहुन, दमार्इं, कानी, माघी, कोइरी तथा जनजाति गरी एक हजार चार सय ७६ घरधुरी भएको तनिया बस्तीको बीचमै धावन मार्ग निर्माण हुने भएकाले सो बस्तीलाई अन्यत्र सार्नुपर्ने हुँदा आफूहरु कहाँ गएर बस्ने भन्ने चिन्ता त्यहाँका बासिन्दाको छ ।
विसं २०३१ र २०३२ तिर तत्कालीन राजा वीरेन्द्रले बसाएको तनिया बस्तीमा सिँचाइ सुविधा प्रशस्त भएपछि त्यहाँका किसान मुख्य रुपमा मकै, धान, गोलभेंडा र सुर्ती खेती गरी आर्थिक रुपमा सम्पन्न हुँदै आएको स्थानीयवासीको भनाइ छ ।
‘विकासका लागि हामी तनिया बस्ती खाली गराउन तयार रहेका छौँ । तर सरकारले सोको सट्टामा अर्को ठाउँमा बस्ती बसाउन जग्गा उपलब्ध गराउनुपर्छ’, तनिया बस्ती सरोकार सङ्घर्ष समितिका संयोजक मुक्ति लामाको भनाइ छ ।
पथलैया–निजगढ सडकखण्डबाट दक्षिणतर्फ पर्ने सो बस्तीमा हाल शिक्षा स्वास्थ्य र सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै सो बस्ती उठाउनुपर्ने भएकाले सरकारले अर्को ठाउँमा पुनर्बास गराउनुपर्ने सङ्घर्ष समितिका उपाध्यक्ष रेवतीप्रसाद मैनालीले बताए ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा साबिक घइटा गाविसको काँट गाउँका एक सय घरधुरी प्रभावित हुने भएको छ ।
तनिया बस्ती काँट गाउँका बासिन्दा सरकारले यथाशीघ्र आफ्ना माग पूरा गर्नुपर्ने बताउँछन् । सो बस्तीलाई कहाँ सार्ने भन्नेबारे सरकारी टोलीले बेला बेलामा स्थलगत अध्ययन गर्दै आएको छ । रासस




                
प्रतिक्रिया दिनुहोस्