४ असार २०८२, बुधबार | Wed Jun 18 2025


निर्बाचनमा रोचक मतपरिणाम : कतै गोलाप्रथा, कतै झिनो मतअन्तरले हारजित


0
Shares

अहिलेसम्म भएको मतगणनाका क्रममा दुई ठाउँमा बराबरी मत आएपछि गोलाप्रथाबाट विजेताको टुंगो लागेको छ । कतिपय ठाउँमा थोरै मतअन्तरले विजेता घोषित भएका छन् ।

सल्यानको ढोरचौर गाउँपालिका वडा नम्बर ४ र सिन्धुपाल्चोकको थाङ्पाल गाउँपालिका वडा नम्बर २ मा वडाध्यक्षका उम्मेदवारले बराबरी मत ल्याएपछि गोलाप्रथाद्वारा विजेता घोषणा गरिएको छ ।

थाङपालमा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर तामाङ र एमालेका उम्मेदवार प्रेम खड्काले समान ४७४ मत ल्याएपछि गोलाप्रथा गर्दा एमाले उम्मेदवार खड्का विजेता बने ।

त्यस्तै ढोरचौरमा कांग्रेसका दिनेश बीएम र एमालेका देवेन्द्र रोकाले समान ३२१ मत ल्याएपछि गोलाप्रथाबाट विजेता घोषणा गर्दा कांग्रेसका वीएम विजेता बनेका थिए ।

अहिलेसम्मको परिणाममा माओवादीका दुई जना उम्मेदवारले निकै कम अन्तरमा जित हात पारेका छन् ।

डोल्पाको मुड्केचुला गाउँपालिकामा माओवादी केन्द्रका दत्तबहादुर शाहीले निकटतम् प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायाभन्दा मात्र दुई मतको फरकले विजय हासिल गर्नुभएको छ । शाहीले ९३३ र रोकायाले ९३१ मत ल्याएका थिए ।

जुम्लाको हिमा गाउँपालिकामा पनि माओवादीका राजबहादुर शाहीले एमालेकै भैरवबहादुर रोकायालाई तीन मतको अन्तरले पराजित गरेका छन् । शाहीले १ हजार ३१७ र रोकायाले १ हजार ३१४ मत प्राप्त गरेका थिए ।

एक सयभन्दा कम मतअन्तरमा विजय हासिल गर्ने केही उम्मेदवार देखिएका छन् ।

जाजरकोटको बारकोट गाउँपालिका प्रमुखमा कांग्रेसका महेन्द्रबहादुर शाहले माओवादीका तिलकबहादुर रावतलाई ९ मतअन्तरले पराजित गरेका छन् ।

सिन्धुपाल्चोकको लिसंखुपाखरमा पनि एमालेका कमल नेपालले माओवादीका राजु लामालाई ३० मत अन्तरले पराजित गरेका छन् ।

धादिङको ज्वालामुखी गाउँपालिकामा नेपाली कांग्रेसका विनोद तिमिल्सिनाले नेकपा एमालेका रामप्रसाद अधिकारीलाई २८ मतअन्तरले पराजित गरेका छन् भने मुस्ताङको घरपजोङ गाउँपालिकामा नेकपा एमालेका आशबहादुर थकालीले नेपाली कांग्रेसका विजयी हिराचनलाई ३७ मत अन्तरले पराजित गरेका छन् ।

म्याग्दीको बेनीमा नेपाली कांग्रेसका हरिकुमार श्रेष्ठले एमाले र राप्रपा गठबन्धनका प्रत्यासी प्रमोद श्रेष्ठलाई ४५ मतअन्तरले पराजित गरेका छन् ।

सबैभन्दा कम मतदाता भएको मनाङको चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घलेले कांग्रेसकी अनिता लामालाई ४१ मतअन्तरले पराजित गरेका छन् ।

हुम्लाको नाम्खा गाउँपालिकामा माओवादी केन्द्रका विष्णु लामाले नेपाली कांग्रेसका छिरिङ पाल्जोर लामालाई ६४ मतअन्तरले पराजित गरेका छन् ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा माओवादीका गोपी स्याङ्तानले नेपाली कांग्रेसका राजन घिमिरेलाई ६६ मतले पराजित गर्दा गोरखाको चुमनुब्री गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङले माओवादी केन्द्रका लाक्पा लुन्डुप लामालाई ६८ मतअन्तरले पराजित गरेका छन् ।

नवलपरासीको देवचुली नगरपालिकामा नेपाली कांग्रेसका पूर्णकुमार श्रेष्ठले नेकपा एमालेका हरि न्यौपानेलाई ६९ मतअन्तर तथा मकवानपुरका बकैया गाउँपालिकामा कांग्रेसका दामोदर खनालले नेकपा एमालेका दलबहादुर वाइवालाई ७२ मतअन्तरले पराजित गरेका छन् ।