३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


प्रमुख पदमा महिला: धेरै पराजित, कतिजना भए विजयी ?(भिडियो)


0
Shares

-सुनिता तामाङ/भरत केसी र नविन स्थापित(ईमेज)

यसले स्थानीय तहमा महिला प्रतिनिधित्व बढ्ने अपेक्षा गरिएको छ । तर निर्वाचनमा राजनीतिक दलहरुले प्रमुखमा भन्दा उपप्रमुखमा बढी उम्मेदवारी दिएपछि नतिजा पनि सोहीअनुसार आएको छ ।

अहिलेसम्म प्रमुख पदमा महिलाहरु कमै मात्र विजयी भएका छन् ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अहिलेसम्म विजयी उम्मेदवारको सूची हेर्दा प्रमुख पदमा महिला विजयी भएको संख्या निकै न्यून देखिएको छ ।

प्रदेश नम्बर ३, ४ र ६ को अहिलेसम्मको तथ्यांकमा ११ वटा स्थानीय तहको प्रमुखमा मात्र महिला उम्मेदवार विजयी भएका छन् ।

२ सय ८३ स्थानीय निकायमध्ये तीन नगरपालिका र ८ गाउँपालिका अर्थात् ४ दशमलव ३५ प्रतिशतको नेतृत्व महिलाले पाएका छन् । उपप्रमुखमा मात्र ८८ प्रतिशतभन्दा बढी महिला निर्वाचित भएका छन् ।

यो तथ्यांक हेर्दा महिलाहरु उपप्रमुखमा मात्रै समित रहेको देखिन्छ । महिलाहरु उपप्रमुखमा मात्र समिति रहनुलाई महिला नेतृहरुले असन्तुष्टी जनाएका छन् ।

राजनीतिक दलको नेतृत्वले महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न नसक्दा स्थानीय तहको नेतृत्वमा कम मात्र महिला पुगेको उनीहरुको ठहर छ ।

महिला नेतृ कल्याणी रिजालले राजनीतिक दलहरुले महिलालाई अविश्वास गरेका कारण स्थानीय तहको नेतृत्वमा महिलाको उपस्थिति कम भएको दाबी गरिन् ।

राष्ट्रिय महिला आयोगले पनि स्थानीय तहको नेतृत्वमा महिला पुग्न नसक्नुलाई बिडम्बनाको रुपमा लिएको छ । आयोगकी कार्यवाहक अध्यक्ष भगवती घिमिरेले सोचे जसरी स्थानीय तहको नेतृत्वमा महिला पुग्न नसकेको बताइन् ।

राजनीतिक दलहरुले उपप्रमुखमा मात्र बढी महिलालाई उम्मेदवारी दिएको भन्दै महिला नेतृहरुले असन्तुष्टि जनाइरहेका बेला निर्वाचन आयोगले भने यो पद पनि निकै जिम्मेवार भएकाले सकारात्मक रुपमा लिनुपर्ने जनाएको छ ।

निर्वाचन आयुक्त इला शर्माले स्थानीय तहको उपप्रमुख पद निकै जिम्मेवारपूर्ण रहेकाले यसलाई महिलाले सकारात्मक रुपमा लिनुपर्ने बताइन् ।

समग्रमा स्थानीय तहको निर्वाचनबाट धेरै महिला प्रतिनिधि चयन भएका छन् । तर नेतृत्वमै पुर्‍याउन भने राजनीतिक दलहरुले देखाएको उदासिनताका कारण यस पटक पनि महिलाहरु दोस्रो तहसम्म मात्र पुगेका छन् ।

आगामी दिनमा महिलालाई नै नेतृत्वमा पुर्‍याउन राजनीतिक दलहरुले पनि उचित ध्यान दिनुपर्ने देखिन्छ ।