२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


म आफैं प्रधानमन्त्री छु, मेरै टाउकोमा अझै १५ वटा मुद्दा छन् : प्रधानमन्त्री दाहाल


0
Shares

आइतबार जनकपुरमा जनकपुर टुडे दैनिक ब्रोडसिट पत्रिकाको विमोचन गर्दै प्रधानमन्त्री दाहालले मधेसमा पनि चुनाव उत्सवमय हुने दाबी गरे ।

मधेसी जनता निर्वाचनमा सहभागी हुन आतुर छन् भन्दै प्रधानमन्त्री दाहालले पहाडमा भन्दा मधेसमा बढी मत खस्ने दाबी पनि गरे ।

प्रधानमन्त्री दाहालले निर्वाचनबाट मधेसको केही माग सम्बोधन हुने र केही माग संविधान संशोधनको माध्यबाट पूरा गरिने पनि बताए ।

‘मधेश केन्द्रित दल र मधेशी जनताको भावनाको मलाई गहिरो हेक्का छ, म आफै १० प्रदेशसहितको संघीयताको पक्षधर हुँ,’ उनले भने, ‘मधेशमा २ प्रदेश बनाउने मेरो पार्टीको पनि आधिकारिक निर्णय हो । अहिलेको संविधानमा मेरो पार्टीको पनि नोट अफ डिसेन्ट छ । तर, देशलाई निकास दिने र मधेश र मधेशी जनताका मुद्दा सम्बोधन गर्न गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता उपलब्धिहरु संस्थागत गर्नुको बिकल्प छैन ।’

त्यसका लागि मधेश केन्द्रित दलहरु पनि निर्वाचनमा आउनुपर्ने उनको भनाइ थियो । आन्दोलन र संघर्षको रुप सधैं एउटै नहुने उल्लेख गर्दै उनले मधेसवादी दलहरुलाई भने, ‘तपाईहरु पनि ब्यालेटको मोर्चामा आउनुस्, मधेशका मुद्दा ब्यालेटबाटै संस्थागत गरौं ।’

मधेश केन्द्रित दलहरुलाई निर्वाचनमा ल्याउन सरकारले अथक प्रयास गरेको भन्दै उनले यो सरकार मधेशका मुद्दाप्रति धेरै संवेदनशील रहेको बताए । उनले भने, ‘म आफै तीस दलीय गठबन्धनको नेतृत्व गरेको नेता हुँ, मधेशबाटै निर्वाचित जनप्रतिनिधि हुँ, मधेशमा माग सम्बोधन गर्न संविधान संशोधनको प्रक्रिया अगाडि बढेको छ, पारित हुने स्थिति देख्नेबित्तिकै यसलाई मतदानमा लगिनेछ, झुट्टा मुद्दा खारेजीका लागि प्रक्रिया सुरु गरिएको छ, घाइते र शहिदहरुको उपचार र राहतको निर्णय गरिएको छ ।’

यो सरकारजत्तिकै नजिकको सरकार मधेशी दल र मधेशी जनताले पाउन केही वर्ष मुस्किल नै पर्ने उनको दाबी थियो । उनले भने, ‘म आफैं प्रधानमन्त्री छु । तर, मेरो टाउकोमा अहिले पनि १५ वटा मुद्दा छन् । तर, मुद्दा फिर्ताको आफ्नो प्रक्रिया छ, मान्यता छ, हामीले चाहेर मात्रै हुँदैन । अनि, हत्याका घटनामा प्रत्यक्ष संलग्नको हकमा मुद्दा फिर्ता गर्न पनि सकिँदैन । तर, हत्यामा संलग्न नभएकाहरुको झुट्टा मुद्दा भने सरकारले फिर्ता गर्छ ।’