२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


मेक्सिकोका कुख्यात लागूऔषध तस्कर गुजम्यान विभिन्न १० आरोपमा दोषी ठहर


0
Shares

काठमाडौं । मेक्सिकोका कुख्यात लागूऔषध तस्कर अल च्यापो गुजम्यान विभिन्न आरोपमा दोषी ठहर भएका छन् ।

अमेरिकाको न्यूयोर्कस्थित एक संघीय अदालतले गुजम्यानलाई १० विभिन्न आरोपमा दोषी ठहर गरेको हो ।

६१ वर्षीय गुजम्यानले अवैध लागूऔषध कोकिन र हेरोइनको तस्करी गरेको, अवैधरुपमा हतियार राखेको र मुद्रा अपचलन गरेकोलगायतका आरोपमा दोषी ठहर गरिएको हो ।

उनलाई दिइने सजाय भने सुनाउन बाँकी छ । अदालतले सजाय सुनाएपछि उनको पुरै जिन्दगी जेलमै बित्न सक्ने छ ।

अल च्यापोले मेस्सिकोको जेलमा सुरुङ बनाएर भागेपछि सन् २०१६ को जनवरीमा गिरफ्तार गरिएको थियो ।

उनलाई २०१७ मा अमेरिका सुपुर्दगी गरिएको थियो । उनीमाथि अमेरिकामा लागूऔषध तस्करी गर्ने गरेको आरोप लागेको थियो ।

उनी अमेरिकामा लागूऔषध भित्र्याउने सबैभन्दा ठूला व्यक्ति भएको मानिएको छ ।

अदालतले ११ हप्तासम्म विभिन्न पक्षको बहस सुनेपछि गुजम्यानलाई दोषी ठहर गरेको हो ।

१९५७ मा एक किसान परिवारमा जन्मिएका गुजम्यान अफिम र गाँजा खेतीमा काम गर्दै आएका थिए ।

उनले त्यहिँबाट लागूऔषध तस्करी गर्न थालेको बताइएको छ । उनको समूह अमेरिकामा लागूऔषध तस्करी गर्ने सबैभन्दा ठूलो समूह भएको मानिएको छ ।

सन् २००९ मा अमेरिकी फोब्र्स पत्रिकाले विश्वका धनीको सूचीमा उनको नाम ७ सय १ नम्बरमा राखेको थियो ।

त्यस बेला उनको कुल सम्पत्ति करिब १ बिलियन डलर रहेको बताइएको छ ।(एजेन्सी)