
-जितेन्द्र भण्डारी/ईमेज
दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा पूर्वी पहाडी जिल्ला पाँचथरमा पनि दलहरुले चुनावी प्रचार तीब्र बनाउन थालेका छन् ।
दलहरु आफ्ना उम्मेदवारलाई जिताउन चुनावी घोषणापत्र सहित गाउँ गाउँमा भोट माग्न जान थालेका हुन् ।
आफैले चुनेका प्रतिनिधिमार्फत् आफ्नो क्षेत्रको विकास निर्माण गर्न स्थानीय जनतामा ब्यग्र प्रतीक्षारत छन् ।
प्रमुख दलहरु मध्ये नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाइसकेको छ भने नेपाली कांग्रेस र नेकपा एमालेले केही गाउँ र नगरपालिकाबाहेक अरु स्थानमा टुंगो लगाइसकेका छन् ।
स्थानीय जनता भने पार्टीको घोषणापत्र भन्दा गाउँको विकास गर्न सक्ने सक्षम नेतृत्व चयनमा चर्चा गर्न थालेका छन् ।
चोकचोकमा गाउँको विकासमा कसले उल्लेख्य योगदान दिनसक्छ भन्नेमा बहस भइरहेकै छ ।
पहिलो चरणको स्थानीय तहको निर्वाचन सफल भएको देखेकाहरु दोस्रो चरणको निर्वाचन पनि त्यसैगरी सफल बनाउनुपर्ने सोचमा छन् ।
पाँचथरको १ नगर र ७ गाउँपालिकाको ६० वडामा निर्वाचन हुँदैछ । जसमध्ये फिदिम नगरपालिकामा १४ वडा र ७ वटा गाउँपालिकामा ४६ वटा वडा छन् ।
जिल्लामा नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी गरी १३ पार्टीले चुनावमा भाग लिँदैछन् ।
जसमा चार पार्टीबीच मूख्य प्रतिस्पर्धा हुने ठानिएको छ । नेपाली कांग्रेस पाँचथरका सचिव रुपनारायण जवेगु अधिकांश स्थानीय तहमा आफ्नो दलको जित सुनिश्चित रहेको दावी गर्छन् ।
नेकपा एमालेका जिल्ला सचिव तिवेन्द्रराज चाँपागाई पनि जिल्लाका ८ वटै तहमा चुनाव जित्ने ठोकुवा गर्छन् ।
माओवादी केन्द्रका जिल्ला संयोजक होम जवेगु पनि तयारी राम्रै भएकाले आफूहरुको विजयको रथ कसैले रोक्ने नसक्ने दावी गर्छन् ।
दलका नेताहरुले यस्तो दावी गरिरहँदा आम सर्वसाधारण भने दलभन्दा पनि आफूलाई दुःख सुखमा साथ दिने राम्रा ब्यक्तिलाई भोट दिने बताउँछन् ।
त्यसैले दलहरुले कस्ता व्यक्तिलाई उम्मेदवार बनाउँछन् भन्ने कुराले कुन दलको पल्लाभारी हुन्छ भन्ने सुनिश्चित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्