५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


महोत्तरीमा बढ्यो चुनावी सरगर्मी


0
Shares

सरकारले तत्काल सम्बोधन गर्नसक्ने मागबारे लचकता देखाएकाले अब राजपा नेपाल चुनावमा सरिक हुने निश्चित भएको जिल्लाको बर्दिवास– १ का बासिन्दा नेपाली कांग्रेसका महासमिति सदस्य चिरञ्जीवी हमालले बताए ।

पहिलो चरणको चुनावमा देखिएको जनसहभागिता र उत्साहले मधेसमा पनि चुनावी वातावरण बनाउन मद्दत गरेको राजनीतिक विश्लेषक बताउछन् । यसअघि तीन नगरपालिका र १२ गाउँपालिका रहेको जिल्लामा सरकारको सोमबारको निर्णयले तीन गाउँपालिकालाई नगरपालिका घोषणा गरेको छ ।

यहाँका कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपासहितका पार्टीका कार्यकर्ता उम्मेदवार चयन र चुनावी तालमेलमा लागको देखिन्छ । राजपा नेपालका नेता राम भण्डारीले पनि आफ्नो दल निर्वाचनमा जाने सम्भावना बढ्दै गएको बताए ।

यसैबीच नयाँ शक्ति पार्टी बर्दिवास नगरमा उम्मेदवार घोषणा गर्ने पहिलो पार्टी बनेको छ । कांग्रेस, एमाले, माओवादीलगायतका अन्य दल उम्मेदवारी छनोटको प्रक्रियामै रहेका बेला नयाँ शक्तिले भने आफ्ना उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।

सो दलले तेजप्रसाद अधिकारीलाई नगर प्रमुखमा र पेशलकुमारी पौडेललाई उपप्रमुखमा उम्मेदवार बनाउने घोषणा गरेको छ । नगरका कायम १३ वडामध्ये ६ वटा वडामा उम्मेदवारी दिने र अन्य वडामा बिचार मिल्ने अन्य दलसँग तालमेलका लागि खुला राख्ने नयाँ शक्तिका जिल्ला संयोजक कौशलेन्द्र शर्माले जानकारी दिए ।

जिल्लाका अन्य स्थानीय तहमा पनि उम्मेदवारबारे टुङ्गो गरिसकिएको बताउँदै अन्य दलसँग तालमेलको कुरा चली रहेकाले घोषणाका लागि पर्खनु परेको उनले जानकारी दिए । (रासस)