
काठमाडौं, माघ २९ । सरकारले ६६२ सहसचिवको समायोजन गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई समायोजन गरिएको बताए ।
उनले ती सहसचिवको मन्त्रिपरिषदले स्वीकृत गरेपछि समायोजन गरिएको बताए ।
उनकाअनुसार आवेदन दिएको आधारमा संघमा ५६० र प्रदेशमा १०२ सहसचिवको समायोजन गरिएको हो ।
यसअघि, सरकारले सचिव र ८४८ उपसचिवको समायोजन गरिसकेको छ ।
समायोजन गरिएका सहसचिवको समायोजनको पत्र तयार भइरहेको र चाँडै नै समायोजनको पत्र मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले दिने जानकारी गराए ।
सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो ।
उनले उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने बताए ।
सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनका आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ ।
सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ । रासस
प्रतिक्रिया दिनुहोस्