बल्ल देखिन थाले हिमाली जटायु « Image Khabar


बल्ल देखिन थाले हिमाली जटायु


Imagekhabar
११ जेष्ठ २०७४, बिहीबार ०९:४९

विषादीयुक्त आहारा, बढ्दो तापक्रमको प्रभाव र बासस्थानको अभावका कारण विश्वबाट नै लोप हुने अवस्थामा रहेको हिमाली जटायु म्याग्दीलाई डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा गरिएपछि उच्च भेगमा फाट्टफुट्ट देखिन थालेका स्थानीयवासीले बताएका छन् । चिमखोला, मुदी र लुलाङमा हिमाली जटायु देखिएका चिमखोलाका ध्रुव पाइजाले जानकारी दिए ।

लोपोन्मुख जटायु संरक्षण गर्न म्याग्दीलाई पशु उपचारमा प्रयोग गरिने ‘डाइक्लोफेनेक औषधि’ मुक्त जिल्ला घोषणासँगै पशुमा सो औषधि प्रयोग र बेचबिखन गर्न प्रतिबन्ध लगाइएपछि एक वर्षको अवधिमा सकारात्मक सङ्केत देखिएको जिल्ला पशु सेवा कार्यालय म्याग्दीका पशु चिकित्किस जीवन आचार्यले बताए ।

जिल्ला पशु सेवा कार्यालय र नेपाल पन्छी संरक्षण सङ्घ काठमाडौँको प्रयासमा दुई वर्षअघि २५औँ जिल्लाका रुपमा म्याग्दीलाई ‘डाइक्लोफेनेक औषधि’मुक्त जिल्ला घोषणा गरिएको थियो ।

जिल्लाका चिमखोला, दग्नाम, गुर्जा, मुदी, ताकम, लुलाङलगायत ठाउँमा हिमाली जटायु देखिन थालेका र ती जटायुको संरक्षणका लागि विशेष कार्यक्रमको आवश्यकता भएको सरोकारवालाले बताएका छन् । जिल्लामा कुन प्रजातिका गिद्ध कति सङ्ख्यामा छन् भन्ने कुराको विस्तृत अध्ययन नभएको र कुनै पनि अभिलेख नरहेको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ ।

सामुदायिक वन–जीवजन्तु संरक्षणमा

यसैगरी, जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोट क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहले जङ्गली जनावर र पक्षीको संरक्षणमा सक्रियता देखाउन थालेका छन् ।

विशेषगरी हिंस्रक जनावरबाहेक अन्य जङ्गली जीवजन्तुलाई संरक्षित जङ्गल क्षेत्रमा संरक्षण गरी युवापुस्तालाई त्यसको विषयमा जानकारी दिनका लागि यस्ता जीव र पक्षीको संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहले सक्रियता देखाउन थालेका हुन् ।

म्याग्दीका गौश्वारा, बगरफाँट र भूमेनाथ सामुदायिक वन उपभोक्ता समूहले त्यस प्रकारको जङ्गली जनावर र पक्षीलाई संरक्षित जङ्गल क्षेत्रमा नै सो समूहले संरक्षण गर्न थालेपछि त्यसको लोकप्रियता बढ्दै गएको छ ।
गौश्वारा सामुदायिक वन उपभोक्ता समूहले चिल, उल्लु, तित्रा, दुम्सी, ढिकुर, मृग र चित्तललाई संरक्षण गर्न थालेका छन्, सो समूहका सल्लाहाकार रत्नबम मल्लले भने, ‘जङ्गलमा पूरै बारको घेरा लगाएर त्यस्ता जनावर र पक्षीको संरक्षण गर्न थालिएको हो ।’

सल्लाहाकार मल्लका अनुुसार जनावरले आफू तार घेरामा परेको अनुभव गर्न नपाओस् भनेर जङ्गलभित्रै उनीहरूलाई घुम्ने स्थान उपलब्ध गराएको र बाहिरी हिंस्रक जनावरले समेत आक्रमण गर्न नपाओस् भनेर तार घेरा लगाइएको हो ।
गौश्वारा सामुदायिक वनले मात्र होइन, यस क्षेत्रका वगरफाँट र भूमेनाथ सामुदायिक वनले मयूर, न्याउली, तित्रो, वन ढिकुर, मृगलगायत जङ्गली जीव र पक्षीलाई संरक्षण गरेर यस क्षेत्रका विद्यार्थीका लागि अवलोकन केन्द्रका रूपमा सामुदायिक वनलाई विकास गर्दै आएको छ ।

यसैगरी, म्याग्दीकै झाँक्रीपानी सामुदायिक वनले पनि जङ्गलमा रहेका जीव र पक्षीलाई संरक्षण गरेर यस वन क्षेत्रलाई खुला चिडियाखानाका रूपमा विकास गर्ने प्रयत्न गर्दै आएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्