५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


प्रतिस्पर्धी बन्दै भरतपुर महानगरको मतगणना, अन्तिम परिणाम कहिले ?


0
Shares

शुक्रबार मध्याह्नसम्म झन्डै ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । महानगरमा एक लाख १२ हजार ७४१ मत खसेकोमा गणना गर्न बाँकी करिब २२ हजार मत छ ।

हालसम्म नेकपा एमालेका देवी ज्ञवाली करिब एक हजार ६०० ले अगाडि छन् । उपप्रमुखमा भने कांग्रेसकी पार्वती शाह पाँच हजार हाराहारीले अगाडि छिन् ।

महानगरको २९ वडामध्ये गणना भएका २१ ओटा वडामा एमालेले ११, कांग्रेसले सात र माओवादी केन्द्रले तीनओटा वडा जितेका छन् ।

कांग्रेस र माओवादीबीच तालमेल भएपनि मतदाताले पार्टीको निर्देशनलाई पूरै पालना गरेको भने पाइँदैन ।

गणना भएको मतलाई हेर्दा सहरी क्षेत्रमा कांग्रेसले माओवादी केन्द्रकी उम्मेदवार दाहाललाई ३० देखि ५० प्रतिशत मत दिएको पाइन्छ भने ग्रामीण क्षेत्रमा ५० देखि ७० प्रतिशतसम्म मत दिएको देखिन्छ ।

तालमेलबाट रुस्ट करिब १० देखि १५ प्रतिशत कांग्रेस कार्यकर्ताले आफूलाई भोट दिएको एमालेका प्रमुख पदका उम्मेदवार ज्ञवालीको दाबी छ ।

उनको दाबीलाई सहायक मतदान अधिकृत गम्भीर घिमिरे मिल्दोजुल्दो नै मान्छन् ।

अधिकांश कांग्रेस मतदाताले रुखमा नै भोट हालेको, प्रमुख पदमा खाली छोडेको, राप्रपालगायतका अन्य साना दललाई भोट दिएको घिमिरेले बताए ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ पार्टीप्रति प्रतिबद्ध र इमान्दार कार्यकर्ताले गठबन्धनअनुसार नै मतदान गरेको बताउँछन् ।

प्रा.डा. सूर्यकान्त घिमिरे भने कांग्रेसका सचेत मतदाताको भोट गठबन्धनमा कम गएको विश्लेषण गर्छन् ।

माओवादी केन्द्रका नेता नारायण दाहाल कांग्रेसभित्रको असन्तुष्टि साम्य हुन नसकेका कारण माओवादी केन्द्रका उम्मेदवारलाई कम मत परेको बताउँछन् ।

मतगणनाको क्रम अन्त्यतिर पुग्नै लाग्दा पनि कसको जित हुन्छ भन्नसक्ने अवस्था छैन । गणना गर्न बाँकी वडा कांग्रेसको प्रभाव क्षेत्र मानिन्छ ।

गणना गर्न बाँकी अधिकांश वडा चितवन क्षेत्र नम्बर–४ मा पर्दछन् । जहाँबाट नेपाली कांग्रेसका पूर्वसभापति स्व. सुशील कोइराला भारी मतका साथ सभासद भएका थिए ।

ज्ञवाली पाँच सय मतले आफू जित्ने दाबी गरिरहँदा दाहाल एक हजार मतले आफ्नो उम्मेदवारले जित्ने दाबी गर्छिन् । यद्यपि, दुबैै पार्टीको भोटको आशा कांग्रेस भएकाले कांग्रेसले जसलाई बढी मत दिन्छ, उसैको जित निश्चित छ ।

अब गणना हुन बाँकी वडामा कांग्रेसको ६० प्रतिशतभन्दा बढी मत माओवादीले पाउन नसकेमा जित ज्ञवालीको हुने प्राध्यापक घिमिरेको अनुमान छ ।

अन्तिम परिणाम आउन अझै तीन दिन लाग्नसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।