३० असार २०८२, सोमबार | Tue Jul 15 2025


अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत, लचिलो बन्यो सत्तापक्ष


0
Shares

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको शीर्ष नेताहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले उठाएको मागहरु वैशाख ३१ को पहिलो चरणको निर्वाचनमा विभिन्न ठाउँमा भएका धाँधलीबारे संसदीय छानबिन समिति गठन गर्न, प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोगको प्रस्ताव फिर्ता गर्न र टिकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन सत्तापक्ष सहमत भएपछि संसद बैठक अघि बढाउने सहमति भएको हो ।

बैठकमा सहभागी नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पार्टीको माग सम्बोधन गर्न सत्तापक्ष तयार भएकाले आजैदेखि संसद्को बैठक सुचारु हुने बताए ।

उनले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा पनि छलफल भएको बताए ।

नेकपा (माओवादी केन्द्रका) नेता नारायणकाजी श्रेष्ठले दोस्रो चरणको स्थानीय निर्वाचन सुनिश्चित गराउन र सरकारको नीति तथा कार्यक्रम पारित गराउनलगायत विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच सहमति भएको जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमतिका साथ अघि बढ्ने समझदारी भएको थियो । रासस