२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


के गर्दैछ अख्तियार ? (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी र उत्तम मानन्धर (इमेज)

काठमाडौं, माघ २८ । नेपालमा भ्रष्टाचारका ठूला–ठूला प्रकरणहरु सार्वजनिक भइरहेको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग भने सानातिना भ्रष्टाचारमै अल्मलिएको आरोप लागिरहन्छ ।

जुनस्तरमा संसद र मिडियामा भ्रष्टाचारका प्रकरण सार्वजनिक हुन्छन्, त्यसको तुलनामा अख्तियारको सक्रियता भने सुस्त देखिएको जनमानसको बुझाइ छ ।

संविधानको धारा २३८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरिएको छ ।

संविधानबमोजिम सार्वजनिक पदधारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको विषयमा छानबिन गर्न आयोग गठन गरिएको हो ।

तर, जतिमात्रामा अख्तियारको दुरुपयोग भएका घटना संसदमा उठिरहेका छन् वा मिडियामा आइरहेका छन्, त्योमात्रामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न भने सकेको छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संविधान, कानुनबमोजिम सशक्त नबनाउनु, आयुक्तहरु नियुक्त गर्दा राजनीति प्रभावित हुनु तथा अख्तियारको दायराभन्दा बाहिर संस्थाहरु रहनुलगायतका कारणले अख्तियारले सक्षमतापूर्वक कामगर्न नसकेको विज्ञहरुको बुझाइ छ ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगाल चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १५ हजार उजुरी परेकोमा २९४ जनाविरुद्ध मुद्दा दायर गरिएको बताउँछन् । यीमध्ये १२६ ओटा ठूला मुद्दा रहेको उनको भनाइ छ ।

अहिलेपनि आमजनताले अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको गुनासो गर्ने गरेका छन् ।

किनकि, समाजमा राज्य, राज्यकोषमा पहुँच हुनेको अपत्यारिलोरुपमा बढ्दो आर्थिक हैसियतले जनता ठग्ने, घुस खानेहरु दन्डित हुनेभन्दा उल्टै रवाफ लगाएर हिँड्ने गरेका छन् ।

अख्तियारले केही हजार र लाखमा घुस खानेलाई निशानामा पार्ने गरेको तर नीतिगत भ्रष्टाचार, ठूला परियोजनाहरुमा करोडौं र अर्बौंको दोहन गर्नेहरु उम्किरहेको आममानिसको बुझाइ छ । यद्यपि, आयोग भने यो मान्न तयार छैन ।

सरकार पनि भ्रष्टाचार नियन्त्रणका लागि निर्मम भएर लाग्नेभन्दा, शून्य सहनशीलताको भाषण गर्ने, कसम खान लगाउने, गीत गाउन लगाउनेजस्ता ‘कस्मेटिक’ परिवर्तनमा रमाइरहेको छ ।

तर, तिनै कसम खाने नेता तथा कर्मचारी तालुकदार रहेको अड्डामा भ्रष्टाचार भइरहेको हुन्छ ।

अर्कोतर्फ विभिन्न संस्थाले निकालेको प्रतिवेदनलाई आधार मान्ने हो भने सबैभन्दा बढी भ्रष्टाचार राजनीतिक क्षेत्रमै छ ।

पाइला–पाइलामा भ्रष्टाचार महसुस गरेका आमजनता राज्य र अड्डा अदालत दुब्लाउँदै गएको तर नेतृत्वको सम्पत्ति फुक्दै गएको महसुस गरिरहेका छन् ।

बल्ल–बल्ल छानबिन गरेर अख्तियारले चलाएका मुद्दा पनि अदालतमा पुगेपछि फितलो हुने गरेको छ । तर, अख्तियार आममानिसको बुझाइसँग पटक्कै सहमत छैन ।

अख्तियारले पछिल्लो समय बहालवाला मन्त्रीदेखि पूर्वगभर्नर र ठूला–ठूला आयोजनाहरुमा हुने गरेको भ्रष्टाचारमा संलग्नहरुलाई कारबाही गरेको प्रवक्ता दंगालको दाबी छ ।

भिडियो हेर्नुहोस्