काठमाडौं महानगरको प्रमुखमा एमालेका शाक्य निर्वाचित हुने लगभग निश्चित

महानगरपालिकाअन्तर्गतका दुईओटा वडाकोमात्र मतगणना बाँकी रहँदा नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई भारी मतअन्तरले पछाडि पारेपछि शाक्य प्रमुखमा निर्वाचित हुने लगभग निश्चित भएको हो ।
शनिबार साँझ साढे ६ बजेसम्मको मतगणनाअनुसार एमालेका विद्यासुन्दर शाक्य ६६ हजार ४४ मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका राजुराज जोशीले ४५ हजार १ सय २३ मत प्राप्त गरी दोस्रो स्थानमा छन् ।
तेस्रो स्थानमा रहेकी विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले २३ हजार २ सय मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले १८ हजार ९०३ मत प्राप्त गरेका छन् ।
यस्तै, भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली ३७ हजार ९ सय ६० मतसहित अग्रस्थानमा छन् । उनलाई माओवादी केन्द्रकी रेणु दाहालले ३६ हजार ४ सय ५६ मत ल्याएर पछ्याइरहेकी छन् ।