
व्यवस्थापिका–संसदको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले केही सांसदले सरकार र नीति तथा कार्यक्रम कामचलाऊ भनेकोप्रति जवाफ दिँदै ‘नीति कामचलाऊ होइन र छलफल पनि कामचलाऊ होइन, अझ परिमार्जन गर्न गरिएको छलफल हो’–भने ।
उनले आफ्नो राजीनामा बहुमत गुमाएर वा अविश्वासको प्रस्ताव दर्ता भएर भएको नभइ सबै राजनीतिक शक्तिलाई एकठाउँमा ल्याउन गरिएको महत्वपूर्ण कदम भएको प्रस्ट पारे ।
प्रधानमन्त्री दाहालले आफू र आफ्नो पार्टीलाईमात्र केन्द्रमा राखेर हेरेको भए सबैलाई जोडेर स्थानीय तहको निर्वाचनमा जान नसकिने बताए ।
उनले आफूले गराइदिएको निर्वाचनमा एमाले पहिलो भएपनि उसैले उल्टै विरोध गर्नुको कारण बुझ्न नसकेको बताए ।
प्रधानमन्त्री दाहालले भारतसँग छलफलपछि हुलाकी राजमार्गको करिब ८०० किलोमिटर सडक निर्माण अघि बढेको जानकारी दिँदै चीनसँगका सम्झौता पनि कार्यान्वयनतर्फ अघि बढेको बताए ।
उनले सरकारले थालेका महत्वपूर्ण अभियानअन्तर्गत् नै लोडसेडिङ अन्त्य र आर्थिक वृद्धिदर बढेको दाबी गरे ।
प्रधानमन्त्री दाहालले परराष्ट्रनीति मुलुकको हितमा सन्तुलितरुपमा अघि बढाउन सरकार सफल भएकोसमेत बताए ।
प्रधानमन्त्री दाहालले कृषिमा लगानी र पर्यटन विकासलगायतका विषयलाई नीति तथा कार्यक्रमले समेटेको स्पस्ट पारे ।
नीति तथा कार्यक्रममा छुटेका केही विषयलाई बजेटले समेट्ने भन्दै प्रधानमन्त्री दाहालले आफ्नो सरकारले गरेका काम पुरानै सरकारले गरेको भनेर गरिएको प्रचारको इतिहासमा जनताले समीक्षा गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्