६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


कन्चनपुरमा माओवादीले उम्मेदवार टुंग्यायो


0
Shares

कन्चनपुर सदरमुकाम रहेको भीमदत्त नगरपालिका प्रमुखमा पार्टीका केन्द्रीय सदस्य गोपाल रसाइली र उपप्रमुखमा नारु सिंहलाई उम्मेदवार बनाइएको छ ।

त्यसैगरी, वेदकोट नगरपालिका प्रमुखमा मीनराज गिरी र उपप्रमुखमा सुमित्रा शाहीलाई उम्मेदवार बनाइएको छ ।

शुक्लाफाँटा नगरपालिका प्रमुखमा लोकेन्द्र ऐरी, उपप्रमुखमा कमला ऐर, कृष्णपुर नगरपालिका प्रमुखमा जोगराम चौधरी र उपप्रमुखमा शर्मिला थापा, पुनर्बास नगरपालिका प्रमुखमा वीरबहादुर थापा र उपप्रमुखमा सीता विकलाई उम्मेदवार बनाइएको माओवादी केन्द्र कन्चनपुरले जनाएको छ ।

त्यसैगरी, बेलौरी नगरपालिका प्रमुखमा मोतीलाल चौधरी उम्मेदवारकारुपमा अघि सारिएपनि उपप्रमुख उम्मेदवार टुंगो लाग्न बाँकी छ ।

त्यसैगरी, महाकाली नदीपारिको महाकाली नगरपालिका प्रमुख र उपप्रमुखको टुंगो सोमबारसम्म लाग्ने जनाइएको छ ।

यहाँको लालझाडी गाउँपालिका अध्यक्षमा मदन बडायक र उपाध्यक्षमा सत्या महरा तथा बेल्डाँडी गाउँपालिका अध्यक्षमा नन्दकिशोर एसके र उपाध्यक्षमा कल्पना गिरीलाई उम्मेदवार बनाइएको माओवादीका केन्द्रीय सदस्य एवं भीमदत्त नगरपालिका प्रमुखका उम्मेदवार रसाइलीले जानकारी दिए ।

नेकपा एमाले यसअघि नै यहाँका सबै तहका लागि आफ्ना उम्मेदवार टुंगो लगाएर चुनावी प्रचारमा जुटिसकेको छ ।

माओवादी केन्द्रले पनि उम्मेदवारसहित घरदैलो अभियानलाई जिल्लाव्यापी बनाएको छ ।

उता, सबैभन्दा ठूलो दल नेपाली कांग्रेस कन्चनपुरले भने उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

बिनाउम्मेदवार चुनावी प्रचार–प्रसारमा जुटेको कांग्रेसभित्र उम्मेदवारका आकांक्षी धेरै भएकाले समस्या भइरहेको छ । कांग्रेस कन्चनपुरका सचिव दिवाकर पाण्डेयले सोमबार कन्चनपुरका सबै तहको प्रमुख–उपप्रमुखको टुंगो लाग्ने बताए ।

आकांक्षी उम्मेदवारको नामावली लिएर कांग्रेस कन्चनपुरका पार्टी सभापति हरिप्रसाद बोहरा र यहाँका निर्वाचन क्षेत्रस्तरीय सभापति काठमाडौं पुगेका छन् ।

केन्द्रीय समितिले गठन गरेको उम्मेदवार छनोट समितिले सोमबारसम्म कन्चनपुरका प्रमुख र उपप्रमुख उम्मेदवार टुंगो लगाउने पार्टी सचिव पाण्डेयले बताए । रासस