
स्थानीय तहको निर्वाचन सम्पन्न भएको १५ दिनपछि काठमाडौं महानगरवासीले मेयर र उपमेयर पाएका छन् ।
पट्यारलाग्दो र झन्झटिलो मतगणना प्रक्रियाका कारण महानगरवासीले आफ्ना जनप्रतिनिधि निर्वाचित भएको सुन्न लामो समय पर्खनुपर्यो । यद्यपि, परिणामको घोषणासँगै नयाँ उत्साहको सन्चार भने भएको छ ।
विजयको उत्साहसँगै काठमाडौं महानगरमा थुप्रिएका समस्याका चाङ पनि अब निर्वाचित मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीको काँधमा आइपुगेको छ ।
चुनावी घोषणापत्रमा उनीहरुले काठमाडौंवासीलाई धेरै आश्वासन दिएका थिए । त्यही आश्वासनलाई विश्वास गर्दै महानगरवासीले उनीहरुलाई चयन गरेका छन् ।
चुनावी नतिजा सार्वजनिकपछि हामीसँग कुरा गर्दै नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले अब आफू कुनै एक दलकोमात्र प्रतिनिधि नभएको र महानगरवासी सबैको प्रतिनिधि भएकाले सोहीअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सबैको चित्त बुझाएर महानगरको विकासमा केन्द्रित हुने उनको भनाइ थियो ।
यसैगरी, नवनिर्वाचित उपमेयर हरिप्रभा खड्गीले जनताले गरेको विश्वासमा धोका नदिने प्रण व्यक्त गरिन् ।
अन्तिम मतपरिणाम सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसका मेयरका प्रत्यासी राजुराज जोशी, नेकपा माओवादी केन्द्रका प्रत्यासी सर्वोत्तम डंगोल, साझा पार्टीका प्रत्यासी किशोर थापा भने अनुपस्थित भए ।
तर, चुनावी प्रतिस्पर्धामा उत्रिएपछि सधैं चर्चामा रहेको र तेस्रो स्थान हासिल गर्न सफल विवेकशील नेपाली पार्टीकी रन्जु दर्शना भने उपस्थित भएर निर्वाचन परिणामलाई स्वीकार गर्दै नवनिर्वाचित मेयर शाक्यलाई बधाइसमेत दिन भ्याइन् ।
उनले काठमाडौंवासीले आफूलाई दिएको मतको सम्मान गर्दै सधैं उनीहरुकै साथमा रहने प्रतिबद्धता व्यक्त गरिन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्