२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


उत्तर कोरियाद्वारा पुनः मिसाइल परीक्षण, ट्रम्पले दिए ‘एक्लै जुध्ने’ धम्की


0
Shares

पछिल्ला केही हप्तामा उत्तर कोरियाले गरेको यो तेस्रो मिसाइल परीक्षण हो । यसअघिका दुईवटा परीक्षण असफल भएकोमा यो छोटो दूरीको मिसाइल भने सफल भएको हो ।

उत्तर कोरियाले प्रहार गरेको मिसाइल ४ सय ५० किलोमिटर दूरी पार गरेर जापानको समुद्री क्षेत्रमा खसेको दक्षिण कोरियाका सैनिक अधिकारीहरुले बताएका छन् ।

उत्तर कोरियाको लगातारको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएको छ ।

पछिल्लो क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरियाका राष्ट्रपति मून जेइनले राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक आह्वान गरेका छन् ।

मूनले उत्तर कोरियासँग सैनिक द्वन्द्व हुने चेतावनी दिएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाको गतिविधिप्रति आपत्ति जनाएका छन् ।

उनले उत्तर कोरियासँग एक्लै जुध्न अमेरिका तयार रहेको चेतावनी दिए । अमेरिकी रक्षामन्त्रीले उत्तर कोरियाका कारण ठूलो द्वन्द्व निम्तिने चेतावनी दिएका छन् ।

उत्तर कोरियाका कारण दक्षिण कोरिया, जापान र रुससमेत खतरा परेको उनको भनाइ छ ।

जापानले पनि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणलाई उत्तेजनात्मक गतिविधिको संज्ञा दिएको छ ।(एजेन्सी)