६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


धनकुटामा ठूला दलबाट उम्मेदवार चयन, युवालाई प्राथमिकता


0
Shares

सबैजसो दलले युवा, सामाजिक व्यक्तित्वलाई उम्मेदवार छनोट गरेका छन् ।

करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारका आकांक्षी बढी हुँदा छनोट गर्न राजनीतिक दललाई निकै सकस परेको थियो । यद्यपि, जिल्लामा क्रियाशील सबैजसो दलले आफ्ना उमेद्वार छनोट गरेका छन् ।

सात/सातजना प्रमुख र उपप्रमुख, ६० वडाध्यक्ष र २४० सदस्यसहित जम्मा ३१४ उम्मेदवारको टुंगो लगाइसकेको नेपाली कांग्रेसले यसपटक युवा उम्मेदवारलाई मैदानमा उतारेको छ ।

अबको स्थानीय तह युवाले सन्चालन गर्नुपर्ने भन्दै युवालाई अघि सारेको कांग्रेसको भनाइ छ । कांग्रेसले प्रमुख पदमा एकजना महिलालाई पनि समेटेको छ ।

धनकुटामा छानिएकामध्ये ९५ प्रतिशत उम्मेदवार ४० वर्षभन्दा कम उमेरको रहेको कांग्रेस सचिव विजयसन्तोषी राई बताउँछन् ।

यसैगरी, नेकपा एमालेले पनि सातै स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य गरी कुल ३१४ जनै उम्मेदवार छानेको छ ।

स्थानीय निकायको अनुभव भएका, २० वर्षसम्म जनप्रतिनिधि नहुँदा गाउँमा जनप्रतिनिधिझैं काम गर्दै आएका, शैक्षिक योग्यता भएका व्यक्तिलाई मैदानमा उतारिएको जिल्ला कमिटी सचिवालय सदस्य अर्जुन राईको भनाइ छ ।

माओवादी केन्द्रले पनि सातै स्थानीय तहमा ३१४ जना नै उम्मेदवार चयन गरेको छ ।

निर्वाचनमा स्वच्छ छवि भएको, परिपक्व, युवा, प्रौढ र बाहिरी जनमतलाई ध्यान दिएर उम्मेदवार छनोट गरेको इन्चार्ज हेमराज भण्डारीले जनाकारी दिए ।

कांग्रस, एमाले र माओवादी केन्द्रजस्तै जिल्लामा रहेका अरु १४ दल पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।

खासगरी राप्रपा, नयाँ शक्ति पार्टी नेपाल, संघीय समाजवादी फोरमलगायतका दलले आफ्नो पकड रहेको क्षेत्रमामात्र उम्मेदवारी दिने तयारी गरेका हुन् ।

साना दललेसमेत आफ्ना उम्मेदवार छान्दा स्वच्छ छवि भएका, परिपक्व, युवा र जनस्तरमा घुलमिल भएका व्यक्तिलाई नै पहिलो रोजाइमा पारेका छन् ।