२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


प्रवासी नेपालीको मत अधिकार: चर्चा धेरै, कार्यान्वयन सुस्त


0
Shares

-युवराज गौतम (ईमेज)

काठमाडौं । नेपाल बाहिर बसोबास गरिरहेका ४० लाख बढी नेपालीलाई स्वदेशमा हुने निर्वाचनहरुमा मतदानको अधिकार भए पनि व्यवस्था हुन सकेको छैन् ।

विदेशमा हुने नेपाली नागरिकहरुले स्वदेशमा हुने निर्वाचनमा मत अधिकार पाउनुपर्छ भन्ने आवाज उठेको बर्षौ वितेपनि त्यसको प्रक्रिया अघि नबढ्दा मत अधिकारबाट बन्चित हुनुपरिरहेको छ ।

७ चैत २०७४ मा विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्बोच्च अदालतको निर्णय बमोजिम भदौमा सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरिसकेको छ । तर सम्बन्धित निकायले मत अधिकार कसरी प्रदान गराउने भन्ने विषयमा उचित चासो र पहल गरेको पाइदैन् ।

विश्वका १ सय १५ मुलुकमा आप्रबासी कामदारलाई मतदानको व्यवस्था भए पनि विदेशमा रोजगारी र अध्ययन गरिरहेका नेपालीहरुले भने मत हाल्न पाइरहेका छैनन् ।

गैर आवसीय नेपाली संघ(एनआरएनए)ले पनि मतदानको व्यवस्था मिलाउन दबाब सिर्जना गरिरहेको छ । तर नेपाल सरकारले आश्वासन मात्र दिने गरेको प्रवासीहरुको गुनासो छ । यता सर्बोच्चको आदेश बमोजिम प्राविधिक र कानुनी जटिलताका बाबजुत मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगले तयारी गरिरहेको आयोगका प्रबक्ता शंकर खरेल बताउँछन् ।

‘विदेशमा प्रवासीका लागि गरिने मतदान प्रक्रियाको अभ्यासका बारेमा अध्ययन समितिले काम गरिरहेको छ, अब चाँडै कार्यदल बनाएर काम टुंगोमा पुर्‍याउँछौं’, प्रबक्ता खरेलले भने । निर्वाचन आयोगले कतार, युएई, बहराइन, यमन, कोरिया, मलेसिया, फिलिपिन्सलगायतका देशमा गएर मतदान अभ्यासका बारेमा अध्ययन गरिसकेको छ ।

सरकारले नेपालीलाई रोजगारीका लागि ११० देश खुल्ला गरेपनि हाल १०७ देशमा ४३ लाख भन्दा धेरै नेपालीले श्रम स्वीकृति लिएको तथ्याकं छ । तर ति देशमा पुगेर मतदान प्रक्रिया अघि बढाउन नै प्राविधिक र आर्थिक समस्या हुने बताइएको छ ।

गैर आवसीय नेपाली संघ(एनआरएनए)का उपाध्यक्ष कुल आचार्य विदेशका नेपालीलाई मतदान अधिकारी दिलाउन सरकारको दायित्व रहेकाले सहयोग गर्न आफूहरु तत्पर रहेको बताए । सबै प्रक्रिया परा गरेर अनलाइन भोटिङ प्रणाली विदेशका नेपालीका लागि उपयुक्त हुने उपाध्यक्ष आचार्यको भनाइ छ ।

एनआरएनए युकेका उप महासचिब विनय अधिकारी भन्छन्, ‘सरकारले अनलाइन भोटिङ विधीलाई पालना गर्नसके उपयुक्त हुन्छ, किनकी विश्वमा भइरहेको अभ्यास अनलाइन भोटिङ नै हो ।’

अन्य देशको व्यवस्था

विश्वका समृद्ध र प्रविधिमैत्री देशहरुले विदेशमा रहेका आफ्ना नागरिकलाई मतदानको व्यवस्था मिलाएका छन् । विदेशमा रहेका भारतका नागरिक राहदानीमा उल्लेखित निर्वाचन क्षेत्रलाई प्रतिनिधित्व गर्दै देशमा हुने चुनावमा सहभागी हुन पाउँछन् ।

अमेरिकाले दुतावासमार्फत वा अनलाइन सिस्टमबाट मतदानको व्यवस्था मिलाएको छ । अफगानिस्तान, अर्जेन्टिना, हंगेरी, दक्षिण अफ्रिका लगायतका देशहरुले देशमा रहेका दूतावास वा कन्सुलरको कार्यालयमा मतदानको व्यवस्था मिलाउने गरेका छन् ।

कस्तो कस्तो विधि

विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन सामान्य छैन् । विधी र प्रक्रिया जटिल मानिन्छ । बैदेशिक रोजगार वा अध्ययनमा रहेका नागरिकलाई दूतावास वा कन्सुलरको कार्यालयमा पुगेर व्यारेट बक्समार्फत मतदान गराउन सकिने ब्यवस्था छ । हुलाक मार्फत पनि मतदान गराउने अभ्यास कतिपय देशहरुले गरिएका छन् । 

स्वीजरल्याण्ड, नर्वे, क्यानाडालगायतका देशले आफ्ना नागरिकलाई मतदान गरेर हुलाकमार्फत पठाउन सक्ने व्यवस्था मिलाएको छ । त्यस बाहेक धेरै देशहरुले चाहीं अनलाइनमार्फत विद्युतीय मतदान गर्ने व्यवस्था मिलाएका छन् । मोबाइल वा कम्युटरको सहायतामा कोर्ड नम्बरका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हुन्छ ।