
-ध्रुव भट्टराई/ईमेज
जिल्ला निर्वाचन कार्यालयले पनि निर्वाचनको आवश्यक तयारी गरिरहेको छ । तर, अपांगता भएका मतदातामा भने आफूहरुले मतदान गर्न नपाइने हो कि भन्ने चिन्ता छाएको छ ।
अपांगता भएका मोरङ डायनियाका चैतु ऋषिदेवलाई लामो प्रतिक्षापछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्ने वेग्र इच्छा छ ।
तर, उनलाई मतदान स्थल पुगेर सहजै भोट हाल्न सकिने वातावरण हुन्छ कि हुन्न भन्ने चिन्ताले पिरोलेको छ ।
ट्राईसाइकलको सहयोगमा हिंड्डुल गर्ने ऋषिदेवलाई घरबाट मतदान स्थलसम्म पुग्न ३० मिनेट लाग्छ । उनले मतदान गर्न जानै समस्या हुने दुःखेसो व्यक्त गरे ।
ऋषिदेव जस्तै मोरङमा शारीरिक अपांगता भएका १० हजार भन्दा बढी मतदाता छन् । राष्ट्रिय अपांग महासंघ मोरङको तथ्यांङअनुसार जिल्लामा १७ हजार ५३ जना अपांगता भएका व्यक्ति छन् ।
जसमा मताधिकार प्रयोग गर्न योग्य १० हजारको हाराहारीमा रहेको अनुमान छ ।
राष्ट्रिय अपांग महासंघ मोरङका अध्यक्ष विमल बस्नेतले जिल्लामा कुनै पनि स्थानमा अपांगमैत्री मतदान केन्द्र निर्धारण नगरिँदा शारीरिक अशक्त, श्रवणशक्ति कमजोर भएका र दृष्टिविहीनलाई मताधिकार प्रयोगमा सबैभन्दा बढी समस्या भएको बताए ।
निर्वाचन आयोगले अपांगता भएका व्यक्तिका लागि छुट्टै मतदानस्थलको व्यवस्था नगरेकाले मोरङमा पनि छुट्टै मतदानस्थल निर्धारण नगरिएको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
क्षेत्रिय निर्वाचन अधिकारी प्रेमप्रसाद संजेलले छुट्टै निर्वाचन स्थल तय नगरिए पनि अपांगता भएका, अशक्त, ज्येष्ठ नागरिक र गर्भवती महिलाका लागि एकै स्थानमा लाइन बस्ने व्यवस्था भने मिलाइने जानकारी दिए ।
लामो समयको प्रतिक्षापछि स्थानीय तहको निर्वाचन हुँदै छ । आम मतदाता आफ्नो मताधिकार प्रयोग गरी आफूले चाहेको जनप्रतिनिधि छान्ने दिनको प्रतिक्षामा छन् ।
आफ्नो मताधिकारको प्रयोग गर्ने अधिकार संविधानले दिएको छ । तर अपांगता भएका मतदाताका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छैन ।
उनीहरुलाई सहज रुपमा मतदान गर्ने वातावरण निर्माण गर्नेतर्फ सरोकारवाला निकायको ध्यान जान सके संविधानले दिएको मताधिकार सुनिश्चिता हुने थियो ।
प्रतिक्रिया दिनुहोस्