२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आयोजना, राष्ट्रिय सहमतिको सरकार बनाउन आग्रह


0
Shares

                                                                                   फाइल फोटो
राष्ट्रपति भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा सहमतिको सरकार गठनका लागि बुधबार (आज) अन्तिम दिन भएकाले यसलाई सदुपयोग गर्न आग्रह गरेको उनका प्रमुख स्वकीयसचिव भेषराज अधिकारीले जानकारी दिए ।

‘मुलुकको अवस्था ख्याल गरेर सहमतिको सरकार गठन गर्नोस्, राष्ट्रिय सहमतिको सरकार गठनको आजको दिनलाई सदुपयोग गर्नोस्, राष्ट्रिय सहमतिको सरकार गठन नभए भोलिबाट बहुमतीय प्रक्रिया सुरु हुन्छ’–राष्ट्रपति भण्डारीले भनेको स्वकीयसचिव अधिकारीले जानकारी दिए ।

दलका नेताले राष्ट्रिय सहमतिको सरकारका लागि आफूहरुले आज रातिसम्म सक्दो प्रयास गर्ने बताएका थिए ।

शीलत निवासस्थित राष्ट्रपति कार्यालयमा भएको सो सर्वदलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी नेता टोपबहादुर रायमाझी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा थिए ।

त्यसैगरी, बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतो, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, नेपाल मजदुर किसान पार्टीका नेता सुनिल प्रजापति, संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी थिए ।

प्रधानमन्त्री दाहालले पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र सहमतीय सरकार गठन गर्न आह्वान गरेकी हुन् । जुन सहमतिको सरकारको पहल गर्ने समय आज सकिँदैछ ।

तोकिएको म्यादभित्र सहमतीय सरकार बन्न नसकेमा संविधानको धारा २९८ को उपधारा (३) अनुसार व्यवस्थापिका–संसदको तत्काल कायम रहेका सदस्य संख्याकोे बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ । रासस