६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


मतपत्र च्यातिएको घटनाबारे छानबिन टोलीले आयोगलाई प्रतिवेदन बुझायो


0
Shares

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार उक्त टोलीले आयोगमा आफ्नो प्रतिवेदन दर्ता गराएको हो ।

मतपत्र च्यातिएपछि निर्वाचन आयोगले सोमबार सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको थियो ।

टोलीले सोमबार नै यहाँ आएर काम थालेको थियो । मंगलबार दिउँसो काम सकेर फर्किएको टोलीले बुधवबार आफ्नो प्रतिवेदन आयोगमा बुझाएको हो ।

‘आयोग यो विषयलाई छिटो टुंग्याउने पक्षमा छ’–प्रवक्ता शर्माले भने–‘निर्वाचन आयुक्तहरुले सम्भवतः आजै बैठक बसेर यसबारे निकास निकल्न सक्छन् ।’

टोलीमा सहजकर्ताकारुपमा सहभागी भएका उपसचिव कृष्ण अधिकारीकाअनुसार टोलीले आफ्नो राय दिन नमिल्ने भएकाले भेट गरेका व्यक्तिले जे–जस्तो बताएका छन्, ती भनाइलाई प्रतिवेदनमा समावेश गरिएको छ ।

सो टोलीले यहाँका राजनीतिक दलका प्रमुख, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणनास्थलमा खटिएका सशस्त्र प्रहरीको टोली प्रमुखलगायत गणनामा सहभागी कर्मचारीसँगसमेत राय–सुझाव लिएको थियो ।

आइतबार राति ११ः४४ बजेको समयमा मतगणना हुँदैगर्दा दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए । सोक्रममा प्रहरीले माओवादी केन्द्रका दुईजनालाई नियन्त्रणमा लिएको छ ।

मतपत्र माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको दाबी नेकपा एमालेको छ भने माओवादी केन्द्रले एमालेका प्रतिनिधिले मतपत्र च्यात्न खोजेपछि रोक्नेक्रममा मतपत्र च्यातिएको विज्ञप्तिमार्फत् जनाएको छ ।

माओवादी केन्द्र र नेपाली कांग्रेसले मतपत्र च्यातिएको भरतपुर महानगरपालिका–१९ को मतदान पुनः गर्नुपर्ने माग गरिरहेका छन् भने एमालेले च्यातिएको मतपत्र छोडेर बाँकी मतपत्र गणना गर्नुपर्ने माग गरेको छ । दलका प्रतिनिधिले गेटमा बसेर मतपत्रको सुरक्षा दिइरहेका छन् ।

भरतपुर महानगरपालिका–१९ को मतगणना अन्तिमचरणमा पुग्न लाग्दा मतपत्र च्यातिएको हो । पछिल्लो मतपरिणामअनुसार महानगरपालिका प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालभन्दा ७३३ मतले अगाडि रहेका थिए ।

महानगरमा एक लाख १२ हजार ७४१ मत खसेको थियो ।

यसैबीच, नेकपा एमाले चितवनले तत्काल मतगणनाको माग गर्दै मंगलबारदेखि विरोधस्वरुप मतगणनास्थलबाहिर कार्यकर्ता धर्नामा बसेका छन् । रासस