विनोद सिंह विष्ट
बैतडी, असार २० । बैतडीको सदरमुकाम खलंगा जोड्ने सडकको अवस्था दयनीय बन्दै गएको छ ।
जिल्लाको मुख्य व्यापारिक केन्द्र गोठलापानी बजारदेखि सदरमुकाम खलंगा जोड्ने सडक मर्मतका लागि वर्षेनि बजेट छुट्याए पनि सडकको अवस्था भने दयनीय छ । अधिकांश सरकारी कार्यालय रहेको सदरमुकाम गढी खलंगा जोड्ने सडकमा बर्षेनि नगरपालिका, तत्कालिन जिल्ला विकास समिति र भवन डिभिजन कार्यालयले बजेट विनियोजन गरेको भए पनि उक्त सडकको व्यवस्थित तरिकाले मर्मत सम्भार नहुँदा सर्वसाधारण र सवारीचालकहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् ।
भत्किएर जताततै खाल्टाखुल्टीमात्रै रहेको उक्त सडक हुँदै जिल्लाका महत्वपुर्ण कार्यालयका हाकिम र कर्मचारीरु समेत यात्रा गर्दछन् । तर सडक भने व्यवस्थित तरिकाले कहिले पनि मर्मत सम्भार हुन सकेको छैन ।
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यलयले सडक मर्मतका लागि १० लाख बजेट विनियोजन गरि काम गरेको शहरी विकास तथा भवन डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीण शाहले बताए । भवन डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत सडक मर्मत गरेको बताए पनि सडकमा खाल्डाखुल्डीको अवस्था भने उस्तै छ ।
विसं. २०६८ सालमा जिल्ला विकास समितिको ५० लाख लागतमा कालोपत्रे गरिएको उक्त सडकमा सहरी विकास तथा भवन डिभिजन कार्यालय र दशरथचन्द नगरपालिकाले पनि मर्मतको नाममा लाखौँ रुपयाँ खर्च गरिसकेको छ । तर सडक व्यवस्थित तरिकाले मर्मत नहुँदा आफुलाई यात्रा गर्न निकै समस्या हुने गरेको विभिन्न कामका लागि सदरमुकाम पुग्नेहरुले गुनासो गर्ने गरेका छन् ।
सडकमा भएको खाल्डाखुल्डीकै कारण उक्त सडकमा गत वर्ष दशरथचन्द नगरपालिकाको ट्याक्टर दुर्घटनामा परेको थियो भने यो वर्ष पनि सडकमा भएको खाल्डोबाट उछिट्टिएर केही दिन अघि एउटा जीप दुर्घटना भएको थियो । सडकलाई स्तरोन्नति गर्नका लागि आठ करोडको ठेक्का आह्वान गरिएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीले जनाएको छ ।
नाली व्यवस्थापन, ढल व्यवस्थापन नहुँदा बर्षातको समयमा झनै समस्या हुने गरेको छ । बर्षातको समयमा नाली भरिएर सबै पानी सडक भएर बग्दछ । यसले गर्दा पैदल हिड्न तथा सवारीसाधन समेत आवागमनमा समस्या हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्