१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


एमालेसहित प्रतिपक्षी दलले प्रधानमन्त्री चयनकाबारेमा ठोस निष्कर्ष दिएनन्


0
Shares

                                                                                           फाइल फोटो
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकमा सो दलले भरतपुर महानगरपालिकाको मतगणना सन्चालन नभएसम्म संसदको बैठक चल्न नदिने र प्रधानमन्त्री चयन प्रक्रिया प्रारम्भ हुन नहुने अडान राखेको छ । अन्य केही दलले भने ती दुई विषयलाई अलग–अलगरुपमा हेर्नुपर्ने बताएका थिए ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बहुमतका आधारमा प्रधानमन्त्री चयनबारे संसदको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको सूचना प्रस्तुत् भइनसकेको अवस्थामा विगतको परम्परा र अभ्यासका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ हुन नसक्ने बताए ।

प्रधानमन्त्री चयनकै विषयमा छलफल गर्न शुक्रबार सभामुख ओनसरी घर्तीले आह्वान गरेको कार्य व्यवस्था परामर्श समिति बैठकमासमेत सहमति नभएपछि दलहरु अलग–अलग गृहकार्यमा जुटेका हुन् । अहिले केहीबेरमा सो समितिको बैठक पुनः बस्दैछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भरतपुरको मतगणना तत्काल सुरु हुनुपर्ने र एमालेले पनि संसद अवरोध खुलाइ प्रधानमन्त्री निर्वाचन प्रक्रियामा सहयोग गर्नुपर्ने आफ्नो पार्टीको धारणा ८ दलीय बैठकमा राखेको जानकारी दिए ।

उनले एमाले र राप्रपाबीच पहिलो चरणको स्थानीय तह निर्वाचनका विषयमा समीक्षा पनि गरिएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १० गते पदबाट राजीनामा दिएका थिए । रासस