‘चुनावकै दिन वर्षा हुनसक्ने सम्भावना’, चुनावमा चुनौती (भिडियो रिपोर्ट)

स्थानीय तहका सबै ७४४ ओटै स्थानको निर्वाचन एकैपटक वैशाख ३१ गते गर्ने गरी गत फागुन १० गते सरकारले मिति घोषणा गरेको थियो ।
तर, सबै राजनीतिक दललाई समेटेर निर्वाचन गर्न, खासगरी मधेसकेन्द्रित दललाईसमेत समेट्न भनेर दुई चरणमा निर्वाचन गर्ने गरी सरकारले जेठ ३१ को दोस्रो मिति तय गर्यो ।
पहिलो चरणमा मधेसकेन्द्रित दलमध्ये उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी र विजय गच्छदारको लोकतान्त्रिक फोरम सहभागी भएपनि ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सहभागी भएन ।
त्यही पार्टीलाई सहभागी गराउन भनेर जेठ ३१ को मितिलाई असार ९ गते सारियो । तर, उक्त दिन मुस्लिम समुदायको रामजान पर्वकै अवधि भएको भन्दै सरकारले फेरि असार १४ गतेको लागि सार्ने निर्णय गर्यो ।
नयाँ मितिमा पनि राजपा नेपाल सहभागी हुने सुनिश्चित नभएको कारण एकातिर अन्योल कायमै छ भने अर्कोतिर यसरी पटक–पटक मिति सार्दा समाजका विभिन्न क्षेत्रमा असर पर्नेमात्र नभइ ‘क्यालेन्डर’ नै चौपट भएको गुनासो पनि उत्तिकै आएको छ ।
यसको प्रत्यक्ष प्रतिकूल असर सबैभन्दा बढी विद्यार्थी, कृषक, सूचना प्रवाह गर्नुपर्ने सन्चारकर्मीहरुमासमेत परेको छ ।
कक्षा–११ को बोर्ड परिक्षा गत वैशाखमा तोकिएकोमा निर्वाचनकै कारण असार १० गते सारिएको थियो । तर, फेरि चुनाव सरेलगतै असार १० गतेदेखि सुरु हुने भनिएको परीक्षा असार १ गतेदेखि गर्ने तय भएको छ । जसले गर्दा परीक्षार्थीहरु प्रत्यक्ष मारमा परेका छन् ।
असार महिनाको मध्य समयमा धानखेती गरिसक्नुपर्ने र किसानहरु खेतीको काममा व्यस्त हुने समय भएकाले कृषकहरुमा त झनै बढी असर पर्ने देखिएको छ ।
समयका कारण चुनावले कृषकलाई निकै बढी प्रभाव पर्ने वरिष्ठ धानबालीविज्ञ भोलामानसिंह बस्नेत बताउँछन् ।
यो सँगसँगै सूचना सम्प्रेषण गरी समग्र जनतामा सूचना प्रवाह गनुपर्र्ने सन्चारकर्मी एवं पत्रकारहरुमा पनि दोस्रो चरणको निर्वाचनले प्रभावित भएका छन् । पत्रकार महासंघको महाधिवेशन गत वैशखामा हुने मिति तय भएको थियो । जुन चुनावकै कारण तोकिएको मितिबाट सरेर जेठ २० र फेरि सरेर असार २२ गते पुर्याइएको छ ।
चुनाव र महाधिवेशन समय करिब सँगसँगै परेकाले देशैभरिका पत्रकारहरुको साझा संगठनको महाधिवेशनमा पनि त्यसको प्रत्यक्ष मार पर्ने अवस्था बनेको छ ।
त्यसो त मध्य असार वर्षायाम भएकाले उसैपनि मौसम अनुकूल हुँदैन । असारमा मनसुन प्रवेश गरिसक्ने हुनाले चुनावकै दिन वर्षा हुनसक्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् विभूति पोखरेल बताउँछिन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।