यी हुन् पहुँचवाला तर फरार दोषी, जो पक्राउ पर्दैनन्

सुडानमा शान्ति स्थापनार्थ खटिएका आफ्नो संगठनका सदस्यलाई बन्दोबस्तीको सामान खरिदमा भ्रष्टाचार गरेको प्रमाणित गर्दै सर्वोच्च अदालतले उनीहरूलाई एक महिना अगाडि दोषी प्रमाणित गरेको थियो । यी फरार हुन् भन्नेबारे प्रहरी निकाय जानकार छ तर पक्राउ गर्न चासो दिएको छैन । यी तीन फरार पक्राउ नपर्नुको कारण हो उनीहरूको ‘हाइ प्रोफाइल’ पृष्ठभूमि ।
यी तीनै जना नेपाल प्रहरीका पूर्व महानीरिक्षक हुन् । उनीहरूको त्यही पृष्ठभूमिकै कारण काठमाडौं उपत्यकाभित्रैको आफ्नै घरमा हुँदासमेत समातिएर जेल पुगेका छैनन् ।
प्रशासनिक पहुँचको भरमा लागू औषध मुद्दामा १९ वर्षदेखि उन्मुक्ति पाउँदै आएको अर्को रोचक घटनासमेत भेटिएको छ । मुद्दा हो २०५५ को, अनि व्यक्ति हुन् मशकुर अहमद लारी । १९९७ मा जर्मनीको फ्र्यांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० किलो चरेशको मुद्दामा उनी तानिएपछि २०६८ मा काठमाडौं जिल्ला अदालतले पक्राउ आदेश जारी गरेको थियो । तर उनी हालसम्म पक्राउ परेका छैनन् । पक्राउ नपर्नुको कारण हो उनको पहुँच । उनी बानेश्वरमा रहेको एभरेष्ट होटलका सञ्चालक हुन् ।
किस्ट बैंकका तत्कालिन प्रवन्ध संचालक कमल ज्ञवाली र उनकी श्रीमती गौरी खनाल पहुँचका आधारमा उन्मुक्ति पाउने अर्का पात्र हुन् । यी दुबै बैंकिङ कसुरका दोषी हुन् । यी दुबै विरुद्ध ३ वर्ष कैद र १२ करोड जरिवानाको फैसला आइसके पनि पक्राउ भने परेका छैनन् ।
यस्तै अदालतबाट जन्मकैदको सजाय पाए पनि राजनीतिक संरक्षणको आडमा बालकृष्ण ढुंगेलले अदालत र प्रशासनलाई घुमाउँदै आएका छन् । उनीविरुद्ध २०६६ मा उज्ज्न श्रेष्ठको हत्याको अभियोग पुष्टि भएको थियो । –नागरिक दैनिकबाट