२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


तरकारी बिक्री नहुँदा बारीमै डोजर लगाएका किसानलाई विद्यार्थीको राहत (भिडियो)


0
Shares

केशव भण्डारी

बुटवल, माघ २६ । चितवनका पुरन महतोले प्रतिकिलो दुई रुपैयाँमा पनि तरकारी बिक्री नभएपछि बारीमै डोजर लगाउँदा आम कृषकले भोग्नुपरेको वास्तविक पीडा उजागर भएको छ ।

व्यावसायिक तरकारी खेतीमा लागेका महतोले दिक्दार बनेर बालीमै डोजर लगाएको खबर सार्वजनिक भएपछि बुटवलस्थित दीप बोर्डिङ स्कुलका विद्यार्थीको मन छोयो । उनीहरुले महतोलाई बोलाएर थोरै भए पनि सान्त्वना दिने प्रयास गरेका छन् ।

बजारमा प्रतिकेजी ३० रुपैयाँमा निर्वाध रुपमा विक्री भएको बन्दा र १५ रुपैयाँमा बिक्री भइरहेको मूला प्रतिकेजी २ रुपैयाँमा पनि बिक्री नभएपछि चितवन, खैरहनीका कृषक पुरन महतो मर्माहत बने । नाफा कमाउनु त कहाँ हो कहाँ, लगानी पनि नउठ्ने भएपछि बारीमै डोजर लगाएर उनले तरकारी बाली नष्ट गरे । यो खबरले धेरैलाई झक्झकायो र बुटवलमा रहेको दीप बोर्डिङका विद्यार्थीले उनको उत्पादन र मिहिनेतलाई सम्मान गरे ।

उनीहरुले प्रतिगोटा १५ रुपैयाँमा तीन टन बन्दाकाउली किनिदिए । 

तरकारी नबिकेको र बारीमै डोजर लगाएको खबर सुनेपछि उनलाई बन्दाकाउलीसहित बुटवलमा बोलाइएको थियो । त्यहाँ उनले ल्याएको सबै बन्दा बिक्री पनि भयो र महतोलाई सम्मानसमेत गरियो । 

२६ कठ्ठा क्षेत्रफलमा उत्पादन गरेको बन्दा र मुलाको मूल्य नपाउँदा अहिलेसम्म करिब १५ लाख रुपैयाँ नोक्सान भएको महतोेको दुःखेसो थियो । आफ्नो पसिना र मिहिनेतको कदर भएको भन्दै महतोले प्रफुल्लित बनेर विद्यार्थीप्रति आभार प्रकट गरे ।

सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा मात्र राखेको छैन, आर्थिक विकासको मेरुदण्ड समेत भनिरहेको छ । तर कृषि क्षेत्रको विकास, विस्तार तथा बजार व्यवस्थापमा सरकारले परिणाममुखी काम गर्न नसकेको भान हुन्छ । 

एकातिर उपभोक्ताका लागि बजारमा तरकारीको मूल्य छोई नसक्नु छ भने अर्कोतिर कृषकले भने ज्यादै थोरै मूल्य पाउँछन् । किसान र उपभोक्ताहरुलाई विचौलिया व्यापारीहरुले कसरी ठगिरहेका छन् भन्ने कुरा यसबाटै प्रस्ट हुन्छ । महतो त एक प्रतिनिधि पात्रमात्र हुन् । कृषि क्षेत्रका यस्ता तमाम विकृतिविरुद्ध सरकारले सशक्त पहल कदमी नगरे किसानहरु सधैँ निराश र विचौलियाहरु सधैँ मोटाउनेछन् । 

भिडियो हेर्नुहोस्