२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


देशका विभिन्न भागमा आज पनि वर्षा


0
Shares

काठमाडौं, माघ २६ । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आज पानी परिरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशका अधिकांश स्थानमा पानी परिरहेको जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण बुधबारदेखि नै देशका धेरै स्थानमा पानी पर्न थालेको हो ।

भोलिबाट भने मौसममा क्रमिक सुधार आउने महाशाखाले जनाएको छ । वर्षासँगै उच्च पहाडि क्षेत्रमा भारी मात्रामा हिमपात भएको छ । 

सोलुखुम्बुसहित पूर्वी पहाडी जिल्लाका अधिकांश उच्च भूभागमा वर्षासँगै हिमपात भइरहेको छ । सल्लेरीसहितका तल्लो भूभागमा तीव्र गतिमा हावा पनि चलेको छ । भारी वर्षा, हिमपातसँगै बढेको चिसोका कारण जनजीवन कष्टकर भएको छ ।

हावाहुरीका कारण सोलुखुम्बुमा टेलिफोन सेवा अवरुद्ध भएको छ । पत्तालेस्थित नेपाल टेलिकमको एन्टेनामा असर पारेपछि फोन सेवा प्रभावित भएको नेपाल टेलिकम सल्लेरीले जनाएको छ ।

यता, काठमाडौंको दक्षिण–पश्चिम क्षेत्रमा रहेको चन्द्रागिरी डाँडामा पनि हिउँ परेको छ । लगातारको वर्षाले चिसो बढाएपछि चन्द्रागिरी, फूलचोकीलगायतका डाँडामा हिउँ परेको हो ।

हिउँ परे पनि वर्षा भइरहेकाले आन्तरिक तथा बाह्य पर्यटकको चहल–पहल भने खासै देखिएको छैन ।

यसअघि गत पुस २३ गते पनि चन्द्रागिरी, फूल्चोकीलगायतका डाँडामा हिउँ परेको थियो । यस्तै भक्तपुरको पर्यटकीय स्थल नगरकोटमा पनि हिमपात भएको छ ।