
विवेक भण्डारी
नवलपुर, माघ २६ । नवलपुरका स्थानीय तहले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा समस्या देखिएको छ । विकास निर्माणका कामलाई मात्र प्रमुख प्राथमिकता राखेका स्थानीय तहले फोहोर व्यवस्थापनमा चासो नदिँदा समस्या देखिएको हो ।
उचित तरिकाले फोहोर व्यवस्थापन नगर्दा नवलपुरका अधिकांश नगरक्षेत्रहरु कुरुप बन्दै गएका छन् । फोहोर व्यवस्थापनका लागि दीर्घकालीन डम्पिङ साइट नहुँदा सामुदायिक वन वा नगरकै गल्लीमा फोहोर फ्याँक्नुपर्ने बाध्यता छ । नगरपालिका घोषित भइसकेका क्षेत्रहरु फोहोरको दुर्गन्ध र डंगुरबाट मुक्त हुन सकेका छैनन् । स्थानीय सरकारहरु विकासका नाममा बाटोघाटो बनाउनेमा मात्रै केन्द्रित हुँदा फोहोर व्यवस्थापनको पाटो अलपत्र बनेको छ ।
पूर्वपश्चिम राजमार्गमा पर्ने कावासोती नगरपालिकाको वडा नम्बर २, ८ र १३ नम्बरमा पर्ने हरियाली वनजंगलहरु नगरको फोहोरले दुर्गन्धित बनेका छन् । जिल्लाका ८ स्थानीय तहमध्ये ४ गाउँपालिका र ४ नगरपालिका छन् । जसमध्ये नगरपालिका क्षेत्रमा फोहोरको व्यवस्थापन ठूलो चुनौतीको विषय बनेको छ ।
गैँडाकोट, कावासोती, देवचुली र मध्यविन्दु नगरपालिकामा निस्केको फोहोर जथाभावी सामुदायिक वनमा लगेर थुपार्ने काम भइरहेको छ ।
उता, डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विजयराज सुवेदीले नगरपालिकाहरुलाई वन क्षेत्रमा फोहोर नफाल्न आग्रह गरे पनि अटेर गरेको बताए ।
अर्कोतिर, फोहोर व्यवस्थापनका लागि उचित स्थान पाउन नसकेकाले तत्काल यसमा केही गर्न नसकिने नगरपालिकाहरुको तर्क छ । कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले डम्पिङ साइट अभावका कारण फोहोर व्यवस्थापनमा असहज भएको भन्दै त्यसको पहल भइरहेको प्रतिक्रिया दिए ।
प्रतिक्रिया दिनुहोस्