१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


आज प्रधानमन्त्रीको निर्बाचन हुँदै, देउवा प्रधानमन्त्री निश्चित


0
Shares

प्रधानमन्त्री चयनका लागिसंसद् बैठक आज अपराह्न १ बजे बस्दैछ । नेपालको संविधानको धारा २९८ को उपधारा (३) र संसद् नियमावली, २०७३ को परिच्छेद–९ को दफा ४९ मा प्रधानमन्त्री चयनसम्बन्धी व्यवस्था छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ १० गते पदबाट राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानानुसार जेठ ११ गते संसदमा रहेका राजनीतिक दलको सहमतिमा प्रधानमन्त्री चयन गर्न सात दिनको समयावधिसहित आह्वान गरेका थिए ।

सहमतिमा प्रधानमन्त्रीको चयन हुन नसकेपछि राष्ट्रपतिले जेठ १८ गते बहुमतीय प्रक्रिया अघि बढाउन आह्वान गरेका थिए ।

राष्ट्रपतिको पत्र प्राप्त भएपछि सचिवालयले नियमावलीको दफा ४९ को उपदफा (४) बमोजिम निर्वाचन प्रक्रिया अघि बढाएको छ ।

प्रधानमन्त्रीको निर्वाचन तालिकानुसार प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ । सभापति देउवा यसअघि तीन पटक प्रधानमन्त्री भइसकेका छन् ।

उपनियम (५) मा उम्मेदवारीको सूचना एउटा मात्र प्राप्त भएमा प्रस्तावक र समर्थक सदस्यले बोलिसकेपछि सभामुखले उक्त उम्मेदवारीलाई बैठकसमक्ष निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ ।

सो उम्मेदवारीमाथि उपनियम (७) बमोजिम मत विभाजन गर्दा संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित भएमा सम्बन्धित उम्मेदवार प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरिनेछ ।

संसद्को निर्णय मत विभाजनद्वारा हुनेछ । एउटा मात्र उम्मेदवारीको सूचना प्राप्त भएका अवस्थामा सभामुखले उम्मेदवारको पक्षमा रहने अर्थात् ‘हुन्छ’ भन्ने र उम्मेदवारको विपक्षमा रहने अर्थात् ‘हुन्न’ भन्ने सदस्यलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लबी) मा प्रवेश गराएर मत सङ्कलन गरिने उपनियम (७)मा उल्लेख छ ।

प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नेपाल लोकतान्त्रिक फोरम, समाजवादी जनता पार्टी, अखण्ड नेपाल पार्टी, नेकपा (संयुक्त) सहित अन्य साना दलका ३१० सांसदको समर्थनमा काँग्रेस संसदीय दलका नेता देउवाले जेठ २० गते प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता गराएका थिए ।

संसदमा हाल ५९३ सांसद छन् । प्रधानमन्त्रीमा निर्वाचित हुन २९७ मत आवश्यक पर्छ ।

काँग्रेससँगको आलोपालो सत्ता नेतृत्व गर्ने समझदारीअनुसार प्रधानमन्त्री दाहालले जेठ १० गते राजीनामा दिएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल काँग्रेससँगको सातबुँदे समझदारीपछि गत साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । रासस