
सोलार जडानका लागि अवैध पैसा लिँदैगर्दा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
गोलन्जोर र फिकल गाउँपालिकाका कार्यकारी अधिकृतलाई इलेक्ट्रोनिक्स पसलबाट घुस लिएको अभियोगमा आयोग सम्पर्क कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो ।
गोलन्जोरका कार्यकारी अधिकृत भोलाकुमार आलेलाई रु एक लाख ५१ हजार र फिकलका कार्यकारी अधिकृत सतीश भट्टराईलाई रु ९० हजार घुस लिएको आरोप लगाइएको छ ।
कमलामाई नगरपालिका–६ स्टलबजारस्थित ध्रुव इलेक्ट्रोनिक्ससँग रु पाँच लाखको सोलार खरिदमा उनीहरुले पसलेसँग घुस लिँदैगर्दा पक्राउ गरिएको आयोग सम्पर्क कार्यालय बर्दिवासका प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।
विद्युत्लाइन नपुगेका गाउँपालिकामा सोलार जडान गर्दा आफूले भनेअनुरुप पैसा नदिए सोलारको भुक्तानी रोकिदिने भन्दै ध्रुव इलेक्ट्रोनिक्सका प्रोपाइटर ध्रुव श्रेष्ठलाई धम्क्याइएको सिंहले बताए ।
यसअघि नै उनीहरुले सोलारको भुक्तानी गर्नुपर्ने भएपनि पैसा नदिएकै कारण रोक्दै आएका थिए ।
सिन्धुलीमा यसअघि गत चैत १८ गते कमलामाई सिन्धुलीका नापी सर्वेक्षक सन्तोष श्रेष्ठलाई बाटो छुट्याइदिएबापत रु २२ हजार पाँच सय घुस लिएको आरोपमा आयोग सम्पर्क कार्यालय बर्दिवासले पक्राउ गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्