कांग्रेस–माओवादी केन्द्रद्वारा राजपा र समाजवादी फोरमसँग तीनबुँदे सहमति « Image Khabar


कांग्रेस–माओवादी केन्द्रद्वारा राजपा र समाजवादी फोरमसँग तीनबुँदे सहमति


Imagekhabar
२३ जेष्ठ २०७४, मंगलवार १५:४६

                                                                                    फाइल फोटो
संविधान संशोधनलगायत तीनबुँदे सहमतिसँगै राजपाले प्रधानमन्त्रीका लागि हुने निर्वाचनमा सभापति देउवालाई समर्थन गर्ने निर्णय गरेको हो ।

उक्त सहमतिपत्रमा कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राजपाका अध्यक्षमन्डलका नेता महेन्द्रराय यादव, शरत्सिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णले हस्ताक्षर गरेका छन् ।

अघिल्लो सरकार गठनकाबेला भएको तीनबुँदे सहमति कार्यान्वयनको प्रतिबद्धता, संघीय आयोग गठन, संविधान संशोधन, मधेस आन्दोलनकाक्रममा लागेका मुद्दा फिर्ता, घाइतेलाई उपचार र पीडितलाई क्षतिपूर्तिका बाँकी काम पूरा गर्नाका साथै स्थानीय तहको संख्या राजनीतिक सहमतिका आधारमा वृद्धि गर्ने सैद्धान्तिक सहमति भएको छ ।

सहमतिको तेस्रो बुँदामा प्रधानमन्त्रीका लागि हुने निर्वाचनमा कांग्रेस सभापति देउवाका पक्षमा मतदान गरिने उल्लेख छ ।

राजपाबाट व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने २४ सांसद छन् ।

यसैगरी, संघीय समाजवादी फोरम नेपालसँग पनि सोही तीनबुँदे सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल र फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

फोरमसँग व्यस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने १५ सांसद छन् । रासस

प्रतिक्रिया दिनुहोस्