२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


दाहालले राजनेतामा हुनुपर्ने गुण देखाउँदै राजीनामा दिएकोमा धन्यवाद : देउवा


0
Shares

बैठकमा प्रधानमन्त्री पदका लागि उम्मेदवारीको सूचना दिने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रसँगको समझदारीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि आफूले उम्मेदवारी दिएको बताए ।

उनले तोकिएको समयमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन र अन्य तहका निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचन आचारसंहितालाई प्रतिकूल असर नपार्ने गरी पुरानै नीति कार्यक्रम र बजेटलाई निरन्तरता दिइने धारणा व्यक्त गरे ।

सभापति देउवाले निर्वाचनमा सबै पक्षलाई समावेश गर्ने वातावरण मिलाउने र मधेसकेन्द्रित दलको मागबमोजिम ल्याइएको संविधान संशोधन विधेयक पारित गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पनि साथ रहने विश्वास व्यक्त गरे ।

उनले भने–‘अहिलेको आवश्यकता संविधानको सर्वस्वीकार्यता हो, त्यसका लागि संविधान संशोधन विधेयक पारित हुनेछ भन्ने म विश्वास दिलाउनु चाहन्छु ।’

सभापति देउवाले ‘स्थानीय तहको निर्वाचनले ‘ग्राँसरुट डेमेक्र्यासी’लाई बल पुग्ने भएकाले जनताको प्रत्यक्ष संलग्नतामा अब विकेन्द्रीकरणलाई स्थापित गर्न र आर्थिक विकासमा लाग्न आवश्यक छ’ भन्दै विदेशी लगानीकर्तालाई आकर्षित गरेर उद्योगधन्दाको विकास गरी आर्थिक वृद्धिको अवस्थालाई निरन्तरता दिन, कृषि उत्पादनलाई बजारसम्म लाने वातावरण निर्माण, समावेशी प्रणाली र संघीयतालाई स्थापित गर्न तथा विभेदमुक्त मूलक निर्माणका लागि राष्ट्रिय सहमतिका साथ आफ्नो नेतृत्वमा बन्ने सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने–‘नेपाली सुन्दर देश छ, यो समृद्धिको बाटोमा अघि बढ्छ, यहाँ केही अभाव छैन ।’

समझदारीबमोजिम प्रधानमन्त्री दाहालले राजनेतामा हुनुपर्ने गुण देखाउँदै राजीनामा दिएकोमा धन्यवाद दिँदै सभापति देउवाले भोलिका दिनमा पनि मिलेर काम गर्ने बताए ।

उनले नेपालको राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर परराष्ट्र नीति बन्नुपर्ने बताउँदै छिमेकी भारत र चीनसँग सुमधुर सम्बन्ध राख्नु पनि नेपालीको हितको विषय भएको उल्लेख गरे ।

‘भारत र चीनकोविरुद्ध नेपाली भूमि कहिले पनि प्रयोग हुन नदिनेमा हामीले आश्वस्त पार्ने गरी काम गर्नुपर्छ’–सभापति देउवाले भने । रासस