
नेपाली राजनीतिमा अनेकौं ‘विकृतिका कारक’कोरुपमा आलोचना खेप्ने गरेका देउवाको यसपटकको कार्यकाल पनि कम्ती चुनौतीपूर्ण छैन ।
मुलुकले पछिल्लो १० वर्षमा १० जनालाई प्रधानमन्त्री बनायो । त्यसकै एउटा शृंखलाअन्तर्गत् मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् ।
यसपटक माओवादी केन्द्रसँगको सत्ता भागबन्डाको ‘भद्र सहमति’अनुसार प्रधानमन्त्री बनेका देउवा चौथोपटक प्रधानमन्त्री बन्ने भाग्यमानी नेतामध्ये एक हुन् ।
राजनीतिमा सबै सम्भव छ भन्ने कांग्रेस–माओवादी केन्द्रको एकताले पुष्टि गरिरहेकाबेला कुनै समय शेरबहादुर देउवा चुनाव गर्न नसकेको आरोपमा तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट ‘असक्षम’ भन्दै बर्खास्त भएका थिए ।
२०४८ सालमा गृहमन्त्री बनेका देउवा पहिलोपटक २०५२ सालमा प्रधानमन्त्री बनेका थिए । त्यसको एक दशकमै देउवा दुईपटक प्रधानमन्त्री बने ।
२०५२ सालमा देउवा प्रधानमन्त्री रहेकैबेला माओवादीले जनयुद्ध सुरु गरेको थियो भने २०५८ मा देउवा नेतृत्वको सरकारले तत्कालीन माओवादी द्वन्द्व नियन्त्रणका लागि भन्दै पुष्पकमल दाहालसहितका नेताहरुको टाउकोको मूल्य तोकेको थियो ।
२०५८ सालमा राजदरबार हत्याकान्डपछि देउवा पुनः प्रधानमन्त्री बने । तर, तत्कालीन राजा ज्ञानेन्द्रबाट २०५९ असोज १८ मा चुनाव गर्न नसकेको भन्दै देउवा बर्खास्त भए ।
पार्टी विभाजन गरी कांग्रेस प्रजातान्त्रिकको सभापति बनेका देउवा प्रतिगमन आधा सच्चिएको भन्दै एमालेले साथ दिएपछि २०६१ मा तेस्रोपटक प्रधानमन्त्री बने । तर, केही समयपछि नै २०६१ माघ १९ गते देउवालाई बर्खास्त गरेपछि तत्कालीन राजा ज्ञानेन्द्रबाट प्रत्यक्ष शासन सुरु भएको थियो ।
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन सुरु भएसँगै देउवालाई भ्रष्टाचारको आरोपमा कारागार पठाइयो र उनले १० महिना जेलमा बिताए ।
२००३ सालमा डडेल्धुराको आसिग्राम गाविस–५ रुवाखोलमा देउवाको जन्म भएको हो । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका देउवाले केही समय बेलायतमा पनि अध्ययन गरेका थिए ।
२०२२ सालमा नेपाल सुदूरपश्मिाञ्चल विद्यार्थी संघको सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका देउवा नेपाल विद्यार्थी संघको संस्थापक सदस्य हुँदै अध्यक्ष बनेका थिए ।
कांग्रेसको १३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका देउवा प्रजातन्त्र पुनःस्थापनापछि भएका सबै आमनिर्वाचनमा विजयी हुँदै आएका छन् ।
कमैयामुक्ति, कर्णाली चिसापानीमा पुल निर्माण, मूल्य अभिवृद्धि करजस्ता सकारात्मक काम देउवाको कार्यकालमा भएका छन् । खुला र निर्णय क्षमता देउवाका सकारात्मक पक्ष मानिन्छन् । तर, आलोचकहरुले देउवालाई ‘परिणामको विचारै नगरी काम गर्ने नेता’कोरुपमा चित्रण गर्ने गरेका छन् ।
कुनै समय चुनाव गराउन असक्षम भनी बर्खास्त गरिएका देउवा फेरि चुनावको मुख्य दायित्वसहित प्रधानमन्त्री बनेका छन् ।
प्रधानमन्त्रीकोरुपमा यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन सफल बनाउनु देउवाको पहिलो दायित्व हुनेछ ।
यस्तै, २०७४ को माघ ७ गतेभित्र प्रदेश र संघको निर्वाचन गराएर मुलुकलाई राजनीतिक स्थिरतातर्फ डोर्याउनु देउवाका लागि अर्को परीक्षा हुनेछ ।
यो कठिन परीक्षामा प्रधानमन्त्रीकोरुपमा देउवा कति सफल हुनेछन्, त्यो भने समयले नै देखाउँनेछ ।
प्रतिक्रिया दिनुहोस्