१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


कांग्रेस र माओवादी केन्द्रका चार मन्त्रीको टुंगो लाग्यो, पौडेल समूहले बहिस्कार गर्ने


0
Shares

राष्ट्रपति विद्या भण्डारीसमक्ष प्रधानमन्त्री देउवाले सपथ लिने कार्यक्रम तय गरिएको छ । आजै पदभार ग्रहण गर्ने उनले सानो मन्त्रिपरिषद बनाउँदै छन् ।

नेपाली कांग्रेसबाट गोपालमान श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की पहिलो चरणमा मन्त्री बन्ने पक्का भएको छ ।

यता नेकपा (माओवादी केन्द्र)को तर्फबाट कृष्णबहादुर महराले सरकारको नेतृत्व गर्ने भएका छन् ।

माओवादी केन्द्रको आज बसेको हेडक्वार्टरको बैठकले देउवा नेतृत्वको सरकारमा महरालाई उपप्रधान तथा परराष्ट्र र जनार्दन शर्मालाई गृह मन्त्रालयको जिम्मेवारी दिइने निर्णय गरेको छ ।

यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा महरा उपप्रधान तथा अर्थ र शर्मा उर्जा मन्त्री थिए ।

बैठकले प्रभु साहलाई पछि मन्त्रालय टुङ्ग्याउने गरी सरकारमा पठाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

तर यता कांग्रेसकै रामचन्द्र पौडेल समूहले भने प्रधानमन्त्रीको सपथ समारोह बहिष्कार गर्ने भएको छ ।

मन्त्री बनाउने बारेमा आफ्नो समूहसँग कुनै छलफल नगरेको भन्दै पौडेल समूहले सपथ समारोह बहिष्कार गर्ने निर्णय गरेको हो ।

आज विहान पौडेल नेतृत्वमा महामन्त्री डा. सशांक कोइराला, प्रकाशमान सिंह, रामशरण महत, महेश आचार्य, मीनेन्द्र रिजाललगायत नेताको वैठकले आफ्नो टीमले पाउने मन्त्रीको संख्या र मन्त्रालयको टुंगो नलाग्दासम्म सपथ समारोहमै नजाने निर्णय गरेको हो ।

यसअघि हिजो संसद भवन बानेश्वरमा भएको प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा भारी मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

देउवाको पक्षमा ३ सय ८८ सांसदले मत दिएका थिए भने विपक्षमा १ सय ७० मत परेको थियो ।

देउवालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम लगायतका दलहरु तथा केही स्वतन्त्र सांसदले मत दिएका हुन् ।