२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एउटै मन्त्रालयमा एक महिनामा दुईपटक उपप्रधानमन्त्री गच्छदारको पदभारग्रहण


0
Shares

पुष्पकमल दाहालको नेतृत्वमा वैशाख २६ गते उपप्रधानमन्त्रीसहित सोही मन्त्रालयमा पदभार ग्रहण गरेका गच्छदारले बुधबार शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारमा पनि त्यही मन्त्रालयमा कार्यभार सम्हालेका हुन् ।

पाँचौंपटक उपप्रधानमन्त्री र १४औंपटक मन्त्री बनेका गच्छदारले बुधबार पदभारग्रहण गर्दै संविधान कार्यान्वयनको पहिलो खुड्किलोमा स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको बताउँदै दोस्रो चरणको स्थानीय तह, प्रादेशिक र संघीय संसदको निर्वाचनपछि पूर्णरुपमा संविधान कार्यान्वयन हुने बताए ।

‘प्रादेशिक र संघीय संसदको निर्वाचन कात्तिक १५ देखि मंसिर १० सम्म गरिसक्नुपर्छ, कात्तिक १५ अघि वर्षा र चाडवाडका कारण निर्वाचन सम्भव छैन भने मंसिर १० पछि हिमाली जिल्लामा हिउँ पर्ने भएकाले चुनाव हुन सक्दैन, माघ ७ गतेभित्र तीनओटै तहको निर्वाचन सक्नुपर्ने संवैधानिक व्यवस्था छ’–उनले भने ।

उपप्रधानमन्त्री गच्छदारले पदभार ग्रहणपछि स्थानीय तहको निर्णय प्रमाणीकरणसम्बन्धी व्यवस्थाको फाइलमा हस्ताक्षर गरे ।

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि आचारसंहिता ल्याउने तयारी भइरहेको जानकारी दिए । रासस