
बुधबार गृह मन्त्रालयमा पद बहालीपछि कर्मचारी तथा सुरक्षा निकायलाई निर्देशन दिँदै गृहमन्त्री शर्माले भने–‘तपाइँहरुको इमान्दारितालाई सम्पूर्णरुपमा जनताको सेवामा प्रयोग गर्नेछु । गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रय अनुसन्धान विभागलाई राजनीतिक उद्देश्यका लागि चलखेल गर्ने, सरकारको नीति र योजना कार्यान्वयनमा भेदभाव गर्ने र अनुशासन तोड्ने कार्यमा छुट दिने छैन ।’
उनले सुरक्षा निकायको ‘चेन अफ कमान्ड’मा कडाइ गरिने तथा प्रचारबाजी गर्ने, वक्तव्य दिने, अनावश्यक अन्तर्वार्ता दिनेजस्ता प्रवत्तिको अन्त्य गरिने प्रष्ट पारे ।
गृहमन्त्री शर्माले भने–‘जनताले चाहेजस्तो नेपाल प्रहरी हुनेछ । जनताले चाहेजस्तो सशस्त्र प्रहरी बल हुनेछ । देशले चाहेजस्तो अनुसन्धान विभाग हुनेछ । देशको संवेदनशील विषय हेर्ने अनुसन्धान विभागलाई आवश्यक पुनःसंरचना गरिनेछ ।’
मूल्यांकनको माध्यम परिवर्तन गरी जनता र सिपाहीबाट गरिएको मूल्यांकनलाई सही मूल्यांकन मानिने उनले जानकारी दिए ।
मन्त्रालय र यसअन्तर्गतका निकायको परिवर्तन र सुधारको सम्बन्धमा केही दिनमै योजना सार्वजनिक गरिने दृढता पनि उनले व्यक्त गरे ।
मन्त्री शर्माले पहिलो निर्णयको रुपमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सफलतापूर्वक सम्पन्न गर्न गृह मन्त्रालय र सुरक्षानिकाय र समस्त कर्मचारीलाई निर्देशन दिए ।
यस्तो छ गृहमन्त्री शर्माको जीवनी
रुकुम जिल्लाको मुसिकोट नगरपालिका–५ (तत्कालीन खलंगा गावि सेरीगाउँ)मा स्कन्द शर्मा र नर्मदा शर्माको जेठो सन्तानकोरुपमा गृहमन्त्री जनार्दन शर्माको वि.सं. २०२० सालमा जन्म भएको हो ।
यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ऊर्जा मन्त्रालयको नेतृत्व सम्हालेर विद्युतभार कटौतीमा महत्वपूर्ण भूमिका खेलेर चर्चा बटुलेका शर्मा स्थानीय तहको दोस्रो चरणको निर्वाचन, संघ र केन्द्रको निर्वाचनका लागि शान्ति–सुरक्षाको महत्वपूर्ण भूमिका निभाउनुपर्ने गृह मन्त्रालयको जिम्मेवारीमा आइपुगेका छन् ।
यसअघि, पहिलोपटक वि.सं. २०६५ सालमा दाहाल प्रधानमन्त्री हुँदा शान्ति तथा पुनःनिर्माण मन्त्रालयको जिम्मेवारी सम्हालेका शर्मासँग माओवादी जनसेनाको डेपुटी कमान्डरको भूमिका निभाएको अनुभव छ ।
उनी त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययन गर्दागर्दै सशस्त्र संघर्षकाक्रममा २०५२ सालदेखि भूमिगत भए । शर्माले जेटिए भइ पाँच वर्ष काम पनि गरे ।
उनी संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा रुकुम क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका हुन् । रासस
प्रतिक्रिया दिनुहोस्