सप्तकोसी कटानको उच्च जोखिममा बराहक्षेत्र « Image Khabar


सप्तकोसी कटानको उच्च जोखिममा बराहक्षेत्र


Imagekhabar
२५ जेष्ठ २०७४, बिहीबार ११:४९

यही विषयमा सुनसरी सदरमुकाम इनरुवामा भएको छलफल तथा अन्तर्क्रिया कार्यक्रममा पनि यो विषयले विशेष प्राथमिकता पाएको थियो ।

हिन्दूहरुका चार धार्मिक क्षेत्रमध्ये नेपालमा रहेका दुई क्षेत्र बराहक्षेत्र र मुक्तिक्षेत्र हो । सुनसरीको बराहक्षेत्रमा अवस्थित यो पावन भूमि सप्तकोसी नदी र कोका खोलाको सङ्गमदेखि ठीक दक्षिणमा नदी घुमेर मन्दिरको दक्षिणी भागको जमिन तीव्र कटान गरिरहेकाले मन्दिर उच्च जोखिममा परिरहेको पण्डित योगेश भण्डारीले बताए ।

प्राचीन तथा पौराणिक धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार भगवान् विष्णुले बराह अवतार लिएर रसातालमा डुब्दै गरेका पृथ्वीलाई आफ्नो सुँडले उचालेर बाहिर निकालेपछि बराहक्षेत्रमा पृथ्वीलाई राखेको भन्ने उल्लेख छ । त्यही पौराणिक धार्मिक मान्यताका कारण बराहक्षेत्र हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र बन्न पुगेको हो ।

सप्तकोसी नदीमा हरेक वर्ष आउने बाढी नदी घुमेर पोखरी बनेको स्थानबाट माथितिरको जमिन कटान गरिरहेकाले यो पावन क्षेत्र कोसीको निरन्तरको कटानले उच्च जोखिममा पर्दै आएको छ ।

दायाँ उत्तरतर्फबाट बग्दै आउनाले कोका तथा पश्चिम उत्तरबाट आएको सप्तकोसीका कारण दुवैतर्फबाट करिब ५/६ वर्षयतादेखि कटान हुन थालेपछि बराहक्षेत्र मन्दिर कटानको उच्च जोखिममा परेकाले कुनै पनि बेला मन्दिर बग्न सक्ने गम्भीर खतरा सिर्जना भइरहेको तर्फ बराहक्षेत्र बचाऊ अभियानकर्मीले राज्यको तत्काल ध्यानाकर्षण हुन जरुरी रहेको तर्फ आवाज उठाउँदै आएका छन् ।

दुई वर्षअघि २०७२ वैशाख १२ मा आएको विनाशकारी भूकम्पले बराहक्षेत्र मन्दिर रहेको पहाडलाई थिलथिलो बनाइदिएका कारण पनि माथिबाट पहिरो खस्ने जोखिमसमेत बढेको पं योगेश भण्डारीको भनाइ रहेको छ । उनका अनुसार तलतिरबाट सप्तकोसीको कटान र माथिल्लो भागबाट आउने पहिरोका कारण बराहक्षेत्र तीर्थस्थल अति संवेदनशील स्थानमा परिणत हुँदै गएकोले राज्यले ध्यान दिनुपर्ने देखिन्छ ।

बराहक्षेत्र जोखिमको उच्च चपेटामा परिरहेको सन्दर्भमा बृहत्तर बराहक्षेत्र विकास समितिले आयोजना गरेको ‘भावी योजना’ विषयक अन्तर्क्रियामा सहभागीले पूर्वको पवित्र धार्मिक पर्यटकीयस्थल बराहक्षेत्रको संरक्षणमा सरकारी तदारुकताको खाँचो औँल्याए ।

समितिका संयोजक गोविन्द कार्कीले सप्तकोसी नदीका कारण मन्दिर बस्तीसमेत जोखिममा परेकाले संरक्षणमा सरकारी निकायले ध्यान दिनुपर्नेमा जोड दिए ।

सोही विषयमा स्थानीय विकास अधिकारी एवम् हाल जिल्ला समन्वय समितिका प्रमुख तुलसीप्रसाद श्रेष्ठले पनि कोका र कोसीले निरन्तर धक्का दिइरहेका कारण मन्दिर जोखिममा रहेको पाइएकाले त्यसको दीर्घकालीन संरक्षण र संवर्द्धनमा सबैको ध्यान जानु जरुरी रहेको बताए ।

त्यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले पनि सप्तकोसी नदीले बराहक्षेत्र मन्दिर रहेको जमिन कटान नियन्त्रणका लागि अन्य निकायसँग समन्वयन गरी काम गर्न पहल गर्ने आवश्यकता देखिएको बताए ।

नेपाल र भारतलगायतका हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्रका रुपमा रहेको पावन भूमि बराहक्षेत्रका प्राचीन एवम् पौराणिक महत्वलाई बचाइ राख्नका लागि अहिले नै राज्य वा सम्बन्धित निकायले ध्यान नदिने हो भने भविष्यमा यसले ठूलो क्षति ब्यहोर्नुपर्ने बताइन्छ । (रासस)

प्रतिक्रिया दिनुहोस्