दोस्रो चरणको निर्वाचनपछिमात्रै मन्त्रिमन्डल विस्तार : प्रधानमन्त्री देउवा

नेपाल विद्यार्थी संघले स्थानीय तह निर्वाचन परिचालन विषयमा बिहीबार पार्टी मुख्यालय सानेपामा गरेको कार्यक्रममा उनले दोस्रो चरणको निर्वाचन असर १४ पछिमात्र मन्त्रिमन्डल विस्तार हुने भन्दै चुनावकेन्द्रित हुन निर्देशन दिए ।
राजधानीमा कार्यकर्ताको भीडभाड बढेको भन्दै उनले ‘भोलि’ नै गाउँमा जान र प्रचारकालागि जुट्न आग्रह गरे ।
सबैलाई मिलाएर आगाडि बढ्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको भन्दै उनले सबै दलको सहमतिमा संविधान कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दोस्रो चरणको निर्वाचनको तयारीमा लाग्न नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुलाई आग्रह गरे ।
राजधानीमा अलमल गर्ने समय नभएको भन्दै उनले गाउँमा गएर जनताको मन जित्न लाग्नुपर्ने बताए ।
कार्यक्रममा विद्यार्थी नेताहरुले युवा विद्यार्थीलाई अवसर र उचित जिम्मेवारी दिन आग्रह गरेका थिए ।