७ असार २०८२, शनिबार | Sat Jun 21 2025


सुनसरीमा उम्मेदवारहरु भोट माग्न व्यस्त, सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा (भिडियो)


0
Shares

निर्वाचनमा भाग लिने उमेदवारहरु यतिबेला गाउँबस्तीमा गएर भोट माग्न व्यस्त छन् ।

असार १४ गते हने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सुनसरीका विभिन्न स्थानमा पार्टीहरुले उम्मेदवारको टुंगो लगाइसकेका छन् ।

सुनसरीको धरान, इटहरी उपमहानगरपालिका तथा इनरुवा, दुहबी र रामधनी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेले भने उम्मेदवारको टुंगो लगाएका छैनन् ।

उम्मेदवार चयन नभएका स्थानीय तहमा पनि राजनीतिक दलहरुले आ–आफ्नो पार्टीलाई भोट मागिरहेका छन् ।

दोस्रो चरणको स्थानीय निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइराला बताउँछन् ।

भारतसँग सीमाना जोडिएको सुनसरीमा निर्वाचनविरोधी तत्वहरुको सक्रियता बढेको भन्दै सुनसरी प्रहरीले जिल्लाभर प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ ।

भारतसँग सीमाना जोडिएको सुनसरीको कोसी, भोक्राहा, हरिनगरा, बर्जु र गडी गाउँपालिकाहरुमा निर्वाचनविरोधी गतिविधि नियन्त्रणका लागि हतियारसहितको प्रहरीको विशेष टोली परिचालन गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेल बताउँछन् ।

निर्वाचनका लागि मत माग्न हिँडेका दलका नेता तथा कार्यकर्ता आफ्ना एजेन्डा जनतालाई बुझाउने प्रयासमा जुटेका छन् ।

मुख्य ठूला दलहरुले आफ्नो पार्टीका उम्मेदवारले निर्वाचन जित्ने दाबी गर्दै घरदैलो अभियानमा छन् ।

दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिका रहेको सुनसरीमा प्रमुख राजनीतिक दलहरु कांग्रेस, एमाले, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम र माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्)